सामाजिक न्याय, सुशासन र समृद्धिका पक्षमा गृह मन्त्रालयले सार्थक पहल लिएको छ : प्रधानमन्त्री प्रचण्ड

सफल खबर संवाददाता

बुधबार, ०६ मंसिर २०८०, १३ : २९
सामाजिक न्याय, सुशासन र समृद्धिका पक्षमा गृह मन्त्रालयले सार्थक पहल लिएको छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक न्याय, सुशासन र समृद्धिका पक्षमा गृह मन्त्रालयले सार्थक पहल लिएको बताएका छन् ।गृह प्रशासनको नीतिगत सुधारबारे सुझाव पेस गर्न गठित अध्ययन समिति र उपसमितिका संयोजक तथा सदस्यहरूसँग आज भएको भेटघाटमा उनले यस्तो बताएका हुन् ।

समितिबाट प्रशासन तथा सुरक्षा सुधारको आवश्यकता र प्राथमिकता किटेर सुझाव आउने उनको अपेक्षा छ ।सुझावले सिङ्गो सरकारलाई नै प्राथमिकता निर्माणमा सहयोग पुर्‍याउने अपेक्षा रहेको प्रधानमन्त्री प्रचण्डले बताए ।उपप्रधान एवं गृहमन्त्री नारायकाजी श्रेष्ठसहितको उक्त भेटघाटमा गृह प्रशासनलाई सबल तथा सक्षम बनाउन, जनताको सुरक्षाको निश्चितता गर्न र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन सुधारका क्षेत्र तथा कार्ययोजनाबारे छलफल भएको थियो ।

उपप्रधानमन्त्री श्रेष्ठले सरकार गठन हुनेबित्तिकैको संसद्‌को बैठकमा प्रधानमन्त्री प्रचण्डले सरकारका प्राथमिकताको चर्चा गरेका र सोही उद्देश्य पूरा गर्न सुधारको पहल गरिएको जानकारी दिए । 

अध्ययन समितिका संयोजक पूर्वमुख्यसचिव लीलामणि पौडेलले एउटा समस्या सुधारेर अर्को समस्यामा हात हाल्नेभन्दा पनि हरेक समस्याको सुधारमा उत्तिकै केन्द्रित हुनुपर्ने बताए । उनले यसका लागि गृह मन्त्रालय र सबै मन्त्रालयले ध्यान दिनुपर्ने बताए ।

समिति र उपसमितिहरूमा प्रशासन सुधारका पक्षमा योगदान दिएका व्यक्तित्वहरू संयोजक र सदस्य छन् । उनीहरूले तलब, भत्ता नलिएरै स्वयंसेवकका रुपमा काम गर्ने बताएका छन् । 

‘अध्ययन वा सुझाव समितिप्रति मानिसमा गहिरो अविश्वास छ । तर हामी स्वयम्सेवीका रुपमा खट्नेछौं र आफ्ना अनुभव र नयाँ प्राथमिकताबारे निष्कर्ष दिनेछौं,’ संयोजक पौडेलले भने, ‘हामीलाई जुन विश्वास गर्नुभएको छ, प्रतिवेदन कार्यान्वयन हुने अपेक्षासमेत गर्दछौं ।’

गृहको समग्र प्रशासन, सेवा तथा सुरक्षा सुधार अध्ययनका लागि मूल समिति र नेपाल प्रहरी, सशस्त्र प्रहरी, अध्यागमन व्यवस्थापन, कारागार व्यवस्थापन तथा स्थानीय प्रशासन र सेवा प्रवाहसहित पाँच विषयगत उपसमितिहरू बनेका छन् ।

प्रतिक्रिया दिनुहोस