इलामको माईपोखरीमा त्रिधार्मिक उत्सव सुरु

सफल खबर संवाददाता

शनिबार, ०२ मंसिर २०८०, ११ : १७
इलामको माईपोखरीमा त्रिधार्मिक उत्सव सुरु

इलाम । इलामको सन्दकपुर गाउँपालिकामा अवस्थित रामसार क्षेत्र माईपोखरीमा त्रिधार्मिक पर्यटन उत्सव शुरु भएको छ । त्रिधार्मिक पर्यटन उत्सवको सन्दकपुर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङले उद्घाटन गरे। किराँत, बौद्य र हिन्दु धर्मगुरुहरुको प्रवचन हुने धार्मिक पर्यटन उत्सवको उद्घाटनमा सयौँ भक्तजन र पर्यटकको उपस्थितमा माईपोखरीको परिक्रममा गरिएको थियो ।

इलाम सदरमुकामबाट १८ किलोमिटर दूरीमा रहेको माईपोखरी धार्मिक र पर्यटकीय क्षेत्रमा महोत्सवका लागि पर्यटकहरु आउने क्रम पनि शुरु भएको छ । धार्मिक पर्यटन उत्सवमा ९ दिन नै बसेर पोखरीमा ध्यान गर्ने, पुजा गर्ने भक्तजनहरु र धर्मगुरुहरु आउने क्रम बढेको छ ।

पर्यटन प्रवर्द्धन र माईपोखरीको महत्व विश्वभर फैलाउने उदेश्यले आयोजना भएकाले नेपाल, भारत र भुटान सम्मका १० लाख बढी पर्यटक भक्तजत भित्र्याउने लक्ष्य रहेको आयोजक समितिको रहेको छ ।

माईपोखरीमा जैविक, धार्मिक, सास्कृतिक, लोपउन्मुख वन्यजन्तु, चराचुरुङ्गी, जडिबुटी, लोपउन्मुख गलैचे झ्याउ, सरीश्रपहरुको अध्ययन गर्न सकिन्छ ।

माईपोखरी रामसार क्षेत्र

माईपोखरी नेपालको पहाडी क्षेत्रमा रहेको पवित्र धार्मिकस्थल र प्रथम रामसार क्षेत्र हो । शान्त वातावरण, हरियाली जंगल, अनेकौं प्रजातिका फुलहरुसँगै सुन्दर, सफा जलाशयको दृश्यले माईपोखरी सधै चिटिक्क हुन्छ । धार्मिक र सास्कृतिक महत्वको बोकेको माईपोखरी पूर्वी नेपालको पहाडी क्षेत्रै पहिलो रामसार क्षेत्र हो । माइपोखरीमा रङ्गीबिरङ्गी माछाको लोभैलाग्दो दृश्य पाइन्छ । विश्वकै अमुल्य सम्पत्ति गलैचे झ्याउ माइपोखरीमा मात्रै पाइन्छ ।

घना जंगल अनि छिन छिनमा लाग्ने हुस्स कुहिरोले छोप्दा पोखरी वरिपरि लुकामारी खेलु झै लाग्छ । पोखरी वरिपरि फरक फरक मौसममा फूल्ने सुगन्धित फुल मायालुको कानमा सिउरिदिउ झैँ लाग्छ । सबै धर्मको साधनाको केन्द्र माईपोखरी सधै भक्तजनको भिड र उनीहरुको प्रार्थनामा हुन्छ ।

माईपोखरी क्षेत्र सन् २००८ मा विश्व रामसार सुचीमा सुचिकृत गरिएपछि विश्वव्यापी पहिचान बनाएको थियो । साक्षात देवीका रुपमा धार्मिक विश्वास गरिएको माइपोखरीमा चिताएको मनोकाक्षा पुरा होस् भनी भाकल गर्ने र परेवा उडाउने गरिन्छ । यहाँ वलिप्रथा भने निषेध छ ।

मेचीराजमार्ग बनाउनु अघि झापाबाट इलाम हुँदै ताप्लेजुङ यात्रा माइपोखरी हुँदै गरिन्थ्यो । शक्ति पिठ ताप्लेजुङको पाथिभरा दर्शन गर्न पैदेल जाने भक्तजनले माइपोखरीको जल उठाएर पाथिभरामा चढाउने प्रचलन थियो । पाथिभरामा माइपोखरीको शुद्ध जल चढाएमा मनोकाक्षा चाडै पुरा हुने विश्वास छ ।

हिन्दु, बौद्ध, र किराँत मुन्धुम सबैधर्मको आस्थाको केन्द्र माइपोखरीमा बैशाख १ गते नयाँ वर्ष र हरिबोधनी ठुली एकादशीका दिन बिषेश पुजा र मेला लाग्ने प्रचलन छ ।नौवटा कुनामा फैलिएको माईपोखरी क्षेत्रमा विश्वमा लोपोन्मुख गलैचे झ्याउ, लोपोन्मुख उभयचर ठकठके लगायत रुख भ्यागुता ३ सय बढी प्रजातीका चराको बासस्थान रहेको अध्ययनमा अल्लेख छ ।

२ हजार १ सय २१ मिटरको उचाइमा अवस्थित २ हेक्टर जलासयसँगै १२ हेक्टर क्षेत्रमा फैलिएको छ माईपोखरी । सुनगोहोरो, लालिगुराँस, सुनाखरी, जडीबुटी, रैथाने माछा, उभयचर, सरिसृप र स्तनधारी प्राणीको बासस्थानले अध्ययन अनुसन्धानकर्मीको ध्यान माईपोखरीले तानेको छ । माईपोखरीको पर्यटन पूर्वाधार विकासको काम धमाधम हुँदै आएको छ ।
 

प्रतिक्रिया दिनुहोस