काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले घरदैलो अभियानको तयारीलाई तीव्र पारेको छ । मंसिर २, ३ र ४ गते रास्वपाले गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा विजयी गराउने मतदाताहरुको सम्मानमा घरदैलो कार्यक्रम गर्न लागेको हो ।
कात्तिक २३ गते बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकको निर्णय अनुसार रास्वपाले घरदैलो कार्यक्रम गर्दैछ ।२०७९ असार ७ मा स्थापना भएको रास्वपाले ६ महिना नपुग्दै प्रतिनिधिसभा प्रत्यक्षतर्फ ७ र समानुपातिकमा ११ लाख ३० हजार ३४४ मत पाएको थियो ।
रास्वपाका सह—महामन्त्री तथा संगठन विभाग प्रमुख कविन्द्र बुर्लाकोटीका अनुसार अभियानमा मुख्यतः दुई एजेण्डा छन् ।‘घरदैलोमा गत निर्वाचनमा विश्वास गरेर मत दिनुहुने मतदातालाई धन्यवाद दिन्छौँ । साथै हामीले आफ्नो प्रतिबद्धता भुलेका छैनौँ । प्रतिबद्धताअनुसार अगाडि बढिरहेका छौँ भनेर भन्छौँ,’ उनले भने ।
बुर्लाकोटीका अनुसार पार्टीका सांसद, केन्द्रीय सदस्य र २०७९ को निर्वाचनका उम्मेदवारहरु घरदैलो अभियान जाने छन् । रास्वपाका २१ सांसद र पदाधिकारीसहित ३९ केन्द्रीय सदस्य छन् ।गत निर्वाचनमा रास्वपाले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ १३१ र १०७ समानुपातिकमा १०७ जना उम्मेदवार खडा गरेको थियो ।
उनीहरु सबैलाई घरदैलो अभियानमा पठाउने तयारीका लागि आज जुम मिटिङ हुने बुर्लाकोटीको भनाइ छ ।‘घरदैलो अभियानको तयारीका लागि केन्द्रीय तहमा आज दिउँसो ४ बजे पहिलो जुम मिटिङ बस्दैछ । आजै साँझ सात बजे अर्को तहको जुम मिटिङ बस्छ,’ उनले भने । अभियानको तयारीका लागि भोलि सातै प्रदेशमा पनि बैठक बस्ने छ ।
गत निर्वाचनमा मत माग्ने हिँडेकै शैलीमा घरदैलो कार्यक्रम हुने बुर्लाकोटीको भनाइ छ । ‘निर्वाचनमा मत माग्न गए जस्तै घर–घर टोल–टोलमा गएर धन्यवाद दिने र हामी प्रतिबद्धतामा अडिक छौँ भन्ने सन्देश दिने हो,’ उनले भने ।
घरदैलो अभियानले आम नागरिकमा आशा जगाउने पनि बुर्लाकोटीले बताए । ‘अहिले व्यवस्थामाथि पनि एक प्रकारको धावा बोलियो भन्ने छ । नागरिकहरु असन्तुष्ट र अन्योलमा रहेको देखिन्छ । मुलुकको आर्थिक अवस्था सिथिल भएका कारणले गर्दा मान्छेमा निराशा छ,’ उनी भन्छन् ।
बुर्लाकोटीले अगाडि भने, ‘हाम्रो घर दैलो अभियानले आम मान्छेमा राम्रो काम पनि भइरहेको छ भन्ने सन्देश दिन्छौँ । आम नागरिकमा एउटा आशा जगाउने काम पनि गर्छौँ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३० कार्तिक २०८०, १६ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खगेन्द्र कर्णलाई रास्वपाले बनायो समानुपातिक उम्मेदवार
रास्वपाको समानुपातिक सूचीमा राखिएकोप्रति डा. महेन्द्र लावतीको असहमति
रास्वपाद्वारा बालेन्द्र शाहसँगको ‘बृहत एकता’ सहमति केन्द्रीय समितिबाट अनुमोदन
बालेनको ब्यवस्थापनका लागि रास्वपाले विधानमा ‘वरिष्ठ नेता’को पद सिर्जना गर्ने
रास्वपाको समानुपातिकतर्फ ३८७ जना आकांक्षीको अन्तिम सूची सार्वजनिक
सरकारी टोलीद्वारा रास्वपा पार्टी कार्यालय अनुगमन