होमस्टेमा थारु परिकारले पाहुनाको स्वागत

सफल खबर संवाददाता

विहीबार, ३० कार्तिक २०८०, १३ : ३४
होमस्टेमा थारु परिकारले पाहुनाको स्वागत

राँझा । ग्रामीण क्षेत्रमा सञ्चालित सामुदायिक घरवास (होमस्टे) को थारु परिकार र आतिथ्यताले पाहुना लोभिने गरेका छन् । बाँकेको बैजनाथ–१ स्थित गाभर भ्याली सामुदायिक होमस्टे, च्यामा होमस्टे र राप्ती सोनारी–८ स्थित नयाँगाउँ होमस्टेमा पुग्ने पाहुनालाई थारु परिकार र संस्कारले स्वागत गर्ने गरिएको छ । 

थारु संस्कृतिसँगै परिकारहरू ढिक्री, गँगटा, घुँगी, माछालगायत परिकारले यतिबेला पाहुनालाई स्वागत गर्ने गरिएको गाभर भ्याली सामुदायिक होमस्टेका अध्यक्ष कृष्ण चौधरीले बताए ।

“अहिले दसैं, तिहारलगायत चाडपर्वका अवसरमा हामीले थारु संस्कृतिसँगै परिकारले पाहुनालाई स्वागत गरिरहेका छौँ,” कृष्णले भने, “तिहार बिदामा घुम्न आउनुभएका पाहुनालाई थारु परिकारसँगै यतिबेला उहाँको चाहनाअनुसार स्थानीय कुखुरा, हाँस र परेवाको परिकार पनि उपलब्ध गराएको छौँ ।”

होमस्टेमा पहिलोपटक पुग्ने पाहुनालाई पुनः जाउँजाँउ लाग्ने बनाउन होमस्टे सञ्चालकहरू जुटेका छन् । थारु संस्कारमै गरिएको स्वागत, सत्कार र फरक स्वादसहितको मीठो परिकारले पाहुना खुसी हुने गरेको नयाँगाउँ होमस्टेका सञ्चालक सदस्य शोभी थारुले बताइन् ।

दसैं, तिहार मनाउन गाउँ फर्केका आन्तरिक पर्यटकहरू होमस्टेमा आउने गरेको राप्ती सोनारी–८ स्थित नयाँगाउँ होमस्टेका अध्यक्ष मङ्गल थारुले बताए । बाँके निकुञ्ज घुम्न आउने पर्यटकहरू अहिले होमस्टेको स्वाद लिन आफूकहाँ आउने गरेको उनको भनाइ छ ।

छोटो समयमा पर्यटकीय क्षेत्रको पहिचान बनाउन सफल गाभर भ्याली बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र पर्दछ । खासगरी आन्तरिक पर्यटकको प्रमुख आकर्षणको केन्द्रविन्दु रहेको गाभर भ्यालीबाट चुरे पर्वतका मनोरम दृश्य देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस