रासायनिक मलको कोटा निर्धारण

सफल खबर संवाददाता

बुधबार, २२ कार्तिक २०८०, १० : ४८
रासायनिक मलको कोटा निर्धारण

काठमाडौ । किसानलाई रासायनिक मल वितरणमा सहयोग पुग्ने गरी शुक्लाफाँटा नगरपालिकाले कोटा निर्धारण गरेको छ । सहकारीमार्फत् किसानलाई रासायनिक मल उपलबध गराउन कोटा निर्धारण गरिएको हो । 

कृषि सामग्री कम्पनी लिमिटेड कञ्चनपुरले नगरपालिकालाई रासायनिक मल डीएपीको एक हजार छ सय ७७ बोरा (आठ हजार तीन सय ८१ मेट्रिक टन) कोटा छुट्याएको छ । नगरपालिकामा दर्ता भई रासायनिक मलको कारोबार गर्ने सहकारीलाई व्यवस्थित तरिकाले किसानसम्म मल पुर्याउन कोटा निर्धारण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले जानकारी दिए ।

नगरपालिकामा दर्ता भएका २२ सहकारीले रासायनिक मलको कारोबार गर्दै आएका छन् । 'सहकारीमा आबद्ध सदस्य र किसानको सङ्ख्यालाई ध्यानमा राख्दै कोटा निर्धारण गरेका छौँ,' उनले भने, 'थोरै सदस्य भएका सहकारीलाई थोरै कोटा निर्धारण गरिएको छ ।'

सहकारीलाई कम्तीमा एक सय २५ देखि अधिकतम एक सय ५४ बोरासम्म पाउने गरी कोटा निर्धारण गरिएको भट्टले बताए । नगरपालिकाले सहकारीलाई कोटा निर्धारण गरी मल वितरण गर्दै आए पनि केही सहकारीमा सञ्चालकमा आबद्ध सदस्यलाई मात्रै रासायनिक मल उपलब्ध गराउँदा सहकारीमा आबद्ध नभएका किसानले मल नपाउने गरेको गुनासो छ ।

नगरपालिका क्षेत्रमा कोटा निर्धारण गरिएभन्दा बढी रासायनिक मल डिएपीको खपत हुने गरेको छ । नगरपालिकाभित्र डिएपी मल प्रतिवर्ष १३ हजार मेट्रिक टन माग रहेको छ । कोटाको थोरैमात्रै मल आउँदा चर्को मूल्य तिर्दै किसानले भारतीय गुणस्तरहीन मलको प्रयोग गर्न बाध्य छन् ।

प्रतिक्रिया दिनुहोस