बागमतीका मुख्यमन्त्रीसँग एमाले आक्रोशित

सफल खबर संवाददाता

बुधबार, १५ कार्तिक २०८०, १२ : २४
बागमतीका मुख्यमन्त्रीसँग एमाले आक्रोशित

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलप्रति नेकपा एमाले आक्रोशित बनेको छ ।  नेकपा एमाले बागमती प्रदेश संसदीय दलको मंगलबार र बुधबार बसेको बैठकले मुख्यमन्त्री जम्कट्टेलले केही समय अघि दिएको अभिव्यक्ति प्रति आपत्ति समेत जनाएको हो ।

मुख्यमन्त्री जम्कट्टेलले सार्वभौम संसदले गरेको निर्णयका विरुद्ध गएर गैरजिम्मेवार अभिव्यक्ति दिएको बैठकले निष्कर्ष निकालेको थियो । सोही बैठकको निर्णय अनुसार मुख्यमन्त्री जम्कट्टेलको उक्त अभिव्यक्तिले सामाजिक सद्भावमा खलल पुर्याउने काम गरेको एमालेको ठम्याइरहेको छ । मुख्यमन्त्री जम्कट्टेलको सो अभिव्यक्ति प्रदेशमा राजनीतिक अस्थिरताको सुरुवात हुने एमालेले जनाएको छ ।

बैठकले संसदको अघिल्लो कार्यकालले बागमती प्रदेशको नामकरण लगायतका ऐतिहासिक विषयहरूमा टुङ्गो लगाइसकेकोमा त्यसका विरुद्ध गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै विरोध जनाएको हो । एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले  मुख्यमन्त्री जम्कट्टेलको अभिव्यक्तिले अस्थिरता निम्त्याउने खेल सुरु गरेको र त्यसतर्फ जनतालाई सचेत हुन अनुरोध गरेका छन् ।

मुख्यमन्त्री जम्कट्टेलले वैदेशिक भ्रमणमा जानुअघि गत असोज ३ गते भक्तपुरको मध्यपुर थिमिमा नेकपा (माओवादी केन्द्र) मध्यपुर नगर समितिले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बागमती प्रदेशको नाम र राजधानी परिवर्तन गर्नुपर्ने बताएका थिए । प्रदेशको नाम र राजधानी दुवै अनुपयुक्त रहेको भन्दै धेरै जनता खुसी नभएको दाबी समेत गरेका थिए ।

सोही कार्यक्रममा सम्बोधन गर्दै तत्कालीन समय प्रदेशसभामा आफूले अन्तिम समयसम्म  प्रदेशको नाम नेवा–ताम्सालिङ नै हुनुपर्छ भनेर अडान लिए पनि सम्भव हुन नसकेको मुख्यमन्त्री जमकट्टेलले बताएका थिए ।

उनले प्रदेशको नाम बागमती परिवर्तन गरेर नेवा–ताम्सालिङ नै राखिनुपर्ने बताएका थिए भने प्रदेश राजधानी हेटौँडा प्रदेशको एउटा कुनामा रहेकाले चितवन र मकवानपुरबाहेक अरु ११ जिल्लालाई पायक नपर्ने भएकाले सबैलाई पायक पर्ने गरी प्रदेश राजधानी धुलिखेल नै राखिनुपर्ने बताएका थिए । नाम र राजधानी परिवर्तन प्रदेशसभाको क्षेत्राधिकार रहेकाले उपयुक्त समय आएपछि राजनीतिक सहमतिबाटै राजधानी र नाम दुवै परिवर्तन हुने उनले बताएका थिए ।

सो कार्यक्रम पश्चात् मुख्यमन्त्री जम्कट्टेल एक साताका लागि दुबई भ्रमणमा गएका थिए । सोही दिन दुबई उडेका मुख्यमन्त्री जम्कट्टेल सोमबार मात्र स्वदेश फर्किएका छन् । उनी मंगलबार गृह जिल्ला धादिङमा रहेका थिए भने आज बुधबार मात्र हेटौँडा आउने कार्यक्रम रहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस