नेकपा एमालेद्वारा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता प्रदान गर्ने निर्णय

सफल खबर संवाददाता

सोमबार, ०४ जेठ २०८३, १८ : ५०
नेकपा एमालेद्वारा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता प्रदान गर्ने निर्णय

काठमाडौं । नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको सदस्यता प्रदान गर्ने निर्णय गरेको छ ।

सोमवार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको सचिवालय बैठकले भण्डारीलाई पुनः पार्टी सदस्यता दिने औपचारिक निर्णय गरेको हो । पूर्वराष्ट्रपति भण्डारीको भावी भूमिका र पार्टी नेतृत्वमा आउन सक्ने सम्भावनाबारे सोधिएको प्रश्नमा उपमहासचिव भट्टले अहिले उहाँलाई सदस्यता दिने निर्णय भएको र नेतृत्वको विषय भविष्यको कुरा भएको बताउनु भयो । उहाँ कुन जिम्मेवारीमा रहनुहुन्छ भन्ने निर्णय पार्टीले आवश्यकताका आधारमा गर्ने उहाँको भनाइ छ । 

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका उपमहासचिव लेखराज भट्टले बैठकमा अध्यक्ष ओलीले पछिल्लो निर्वाचनको परिणाम र वर्तमान राजनीतिक परिस्थितिका सन्दर्भमा समीक्षात्मक सम्बोधन गर्नुभएको बताउनु भयो । बैठकमा महासचिवले विभिन्न ११ वटा कार्यसूची (एजेण्डा) प्रश्तुत गर्नुभएको थियो । बैठकमा प्रश्तुत गरिएका प्रमुख एजेण्डाहरूमा पदाधिकारीहरूको वरीयता क्रम निर्धारण, वर्तमान सरकारको कामकारबाहीको समीक्षा, पार्टी सदस्यता नवीकरण तथा विस्तार, र पदाधिकारी एवं सदस्यहरूको कार्यविभाजन रहेका छन् । एमालेले वर्तमान सरकार स्वेच्छाचारी ढंगले अगाडि बढिरहेको निष्कर्ष निकाल्दै यसबारे पनि छलफल गरेको छ । 

यस्तै, संविधान संशोधन सुझाव कार्यदल गठन, निर्वाचन समीक्षा प्रतिवेदन तयारी कार्यदल गठन, पार्टी केन्द्रिय कार्यालय भवन निर्माण, नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको निर्देशक समिति गठन र संगठन विभागको विस्तार जस्ता प्राविधिक तथा सांगठनिक विषयहरूमा पनि बैठकमा छलफल भएको उपमहासचिव भट्टले जानकारी दिनुभयो । 

एमाले सचिवालयको अर्को बैठक जेठ ८ गते बिहान साढे ११ बजे पुनः अध्यक्षको निवासमा बस्ने तय भएको छ । सो बैठकमा सोमवार प्रश्तुत गरिएका बाँकी एजेण्डाहरूमाथि विस्तृत छलफल गरी आवश्यक निर्णय लिइने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस