निर्मला हत्या प्रकरण : एसपीका छोरा र मेयरका भतिजा पनि अनुसन्धानमा तानिने

सफल खबर संवाददाता

शनिबार, ०९ भदौ २०७५, १३ : ५१
निर्मला हत्या प्रकरण : एसपीका छोरा र मेयरका भतिजा पनि अनुसन्धानमा तानिने

कञ्चनपुर । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि भएको हत्या प्रकरणमा एसपी डिल्लीराज बिष्टका छोरा र भीमदत्त नगरका मेयर सुरेन्द्र बिष्टका भतिजामाथि पनि अनुसन्धान हुने भएको छ । गृह मन्त्रालयले दुबैलाई अनुसन्धानको दायरामा ल्याउन निर्देशन दिएको बुझिएको छ । 

यो विषयमा प्रधानमन्त्री र गृहमन्त्रीबीच छलफल भएपछि एसपीका छोरा र मेयरका भतिजालाई पनि अनुसन्धानको दायरामा ल्याउन निर्देशन भएको हो । यसअघि पक्राउ गरेर तारेखमा छाडिएका दुई युवालाई पनि पक्राउ गरेर थप अनुसन्धान गर्न गृहले निर्देशन दिएको छ ।

यसैबीच, हत्यारालाई तीन हप्तासम्म खोजविन र कारवाही नगरेको आरोप लागेका एसपी, डीएसपी र मुद्दा फाँटका प्रहरीलाई गृह मन्त्रालयले विभागीय कारवाही गर्ने भएको छ । उनीहरुलाई गरिने कारबाही प्रक्रिया समेत अघि बढाइएको छ ।

कञ्चनपुरमा भएको आन्दोलनमा गोली लागेर मृत्यु भएका भीमदत्त नगरपालिका १८ सालघारीका सनी खुनालाई शहिद घोषणा गर्न परिवारले माग गरेको छ । मृतककी आमा मञ्जु खुनाले छोरालाई सरकारले शहिद घोषणा गर्नुपर्ने बताइन् । उनले शहिद घोषणा नगरेसम्म शव नबुझ्ने बताएकी छन् । 

यसैबीच, भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र बिष्टले मृतकका परिवारलाई तीन लाख रुपैयाँ राहत दिने घोषणा गरेका छन् । शुक्रबार भएको विरोध प्रदर्शनमा गोली लागेर १७ वर्षीय खुनाको मृत्यु भएको थियो । महाकाली अञ्चल अस्पताल नपुर्याउँदै खुनाको मृत्यु भएको हो । 

यो पनि
कञ्चनपुरको आन्दोलनमा प्रशासनले संयमता गुमायो

कञ्चनपुर आन्दोलन : स्थिति साम्य बनाउन सर्वदलीय छलफल

निर्मला हत्या प्रकरण : गृहमन्त्रीले भनेका दोषी दुई जना कहाँ छन् ?

निर्मला हत्या प्रकरण : थप दुई जना पक्राउ  

प्रतिक्रिया दिनुहोस