भौगोलिक विकटताका कारण कर्णालीको शिक्षा क्षेत्रमा प्रगति हुन सकेन : मुख्यमन्त्री शर्मा

सफल खबर संवाददाता

विहीबार, ०२ कार्तिक २०८०, १६ : ०७
भौगोलिक विकटताका कारण कर्णालीको शिक्षा क्षेत्रमा प्रगति हुन सकेन : मुख्यमन्त्री शर्मा

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले ठूलो भूगोल, भौगोलिक विकटता र न्यून बजेटका कारण कर्णालीको शिक्षा क्षेत्रमा उल्लेख्य प्रगति हासिल हुन नसकेको बताएका छन्।

आगामी पाँच वर्षभित्र अहिले देखिएको शैक्षिक सूचकहरूलाई परिवर्तन गर्नेगरी शिक्षा सुधारमा प्रदेश सरकार अग्रसर भइरहेको उनको भनाइ छ । बिहीबार शिक्षा पत्रकार समूहले वीरेन्द्रनगरमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दे उनले भने,'शिक्षा सुधार गर्न बाल शिक्षालाई सुधार गर्नुपर्ने देखिन्छ । शिक्षाको आधार बालशिक्षा हो । जग बलियो भएमात्र घर बलियो हुन्छ ।'

शर्माले स्थानीय तहलाई शिक्षाको जिम्मेवारी रहेको भएपनि तीनै तहका सरकारले आधारभूत र बाल शिक्षा सुधार गर्न आपसी सहकार्य गरेर मात्र शैक्षिक नतिजा सुधार गर्न सकिने बताए‌।

यस्तै शर्माले शिक्षाको आधार स्थानीय तह रहेको बताए । 'स्थानीय तहलाई बजेट र जनशक्तिसहित बलियो बनाउनु पर्दछ,' उनले भने,'शिक्षा सुधारको जग बाल शिक्षा हो ।' शर्माले कर्णाली प्रदेश सरकारले शैक्षिक सुधारका लागि १० जिल्लामा १० वटा नमुना विद्यालय बनाउने गरी आवश्यक कार्यअघि बढाउन लागेको बताए । त्यसका लागि कार्यविधि निर्माण भइरहेको पनि उनको भनाइ छ।

उनले  भने,'शिक्षण सिकाई केन्द्र निर्माण गरेर अनलाइन र भौतिक रुपमा विद्यार्थी पढाउने, शिक्षक र अभिभावक अन्तरक्रिया र स्थानीय तहलाई पाठयक्रम निर्माण आदिमा प्रदेश सरकारले सहयोग गर्नेछ ।'

कार्यक्रममा कर्णालीका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीले लेखेका चिठी मुख्यमन्त्रीलाई हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस