काठमाडौं । नेकपा एमालेले आगामी माघ मसान्तभित्र पार्टीका जिल्ला तथा पालिका तहका अधिवेशनहरू सम्पन्न गर्नेगरी योजना बनाउन सम्बन्धित कमिटीलाई परिपत्र गर्ने भएको छ ।
पार्टीको केन्द्रीय संगठन विभागको असोज ३० गते बसेको बैठकले प्रदेश कमिटीहरूका अधिवेशन निर्धारित समयमा सम्पन्न भइसकेकोले जिल्ला, स्थानीय तह र वडा तहका कमिटीका अधिवेशन सम्बन्धमा निर्णय लिएको हो ।
बैठकले फागुन र चैत महिनामा पार्टी सदस्यता नवीकरणसँगै वडा र टोल कमिटीका अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको एमालेले जनाएको छ । पार्टीका स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख काशीनाथ अधिकारीको अध्यक्षतामा बसेको बैठकले सदस्यता प्रमाणीकरण प्रतिवेदन अनुमोदन गरेको छ ।
सोअनुसार भारत प्रवास र अन्तर्राष्ट्रिय कमिटी मातहतका सदस्यबाहेक पार्टीका साढे पाँचलाख सदस्यहरूको सदस्यता प्रमाणीकरण भएको छ ।बैठकले सदस्यता स्थानान्तरण पनि खुला गरेको पार्टीका केन्द्रीय सदस्य तथा संगठन विभाग सचिव माधव ढुंगेलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । विभागद्वारा विभिन्न सात बुँदामा गरिएका निर्णयसहितको विज्ञप्तिको पूर्णपाठ यस प्रकार छः
प्रेस विज्ञप्ति
नेकपा (एमाले) केन्द्रीय संगठन विभागले गत असोेज २९ र ३० गते संगठनको कामका सन्दर्भमा विभागका पूर्व प्रमुखहरूसँग मार्गदर्शन लिने काम गरेको छ । विभागको कामलाई विद्युतीय प्रणालीमा रूपान्तरण गर्ने सन्दर्भका देखिएका प्राविधिक समस्या र अस्पस्टतालाई स्पस्ट पार्ने र यसले दिएको दिशा निर्देशलाई आत्मसात् गर्दै निर्णय गर्न र योजना बनाउन विभागको १६औं बैठक असोज ३० गते सम्पन्न भयो ।
संगठन विभागका पूर्व प्रमुखहरूसँगको अन्तक्रिया तथा मार्गदर्शन कार्यक्रममा संगठन विभागका पूर्व प्रमुखहरू वरिष्ठ उपाध्यक्ष कमरेड इश्वर पोख्रेल, उपाध्यक्ष कमरेड विष्णु पौडेल, सल्लाहकार परिषदका अध्यक्ष कमरेड अमृतकुमार बोहरा र स्थायी कमिटी सदस्य कमरेड खगराज अधिकारीको उपस्थिति रहेको थियो । कार्यक्रममा उहाँहरूले आ–आफ्ना अनुभव सहितका मार्गदर्शन मन्तव्य राख्नुभएको थियो । कार्यक्रमा पार्टी महासचिव कमरेड शंकर पोख्रेलको समेत उपस्थिति रहेको थियो । पूर्व प्रमुखहरूसँगको मार्गदर्शनले संगठन विभागलाई पार्टीको संगठनात्मक जीवनमा ठोस नीति बनाउन र निर्णय लिन योगदान पुग्ने विश्वास गरिएको छ ।
यसैगरी संगठन विभागसँग जोडिएका प्राविधिक समस्याहरूको सूची तयार पारीे संगठन विभाग र पार्टी सदस्यहरूको अभिलेख व्यवस्थापन र सञ्चालन अनलाईन प्रणाली अनुसार गर्न जिम्मा दिइएको सूचना प्रविधि तथा प्राविधिक समूह बीचको अन्तर्क्रिया पार्टीका उपमहाचिव कमरेड विष्णु रिमालको विशेष उपस्थितिमा सम्पन्न भएको छ । यस कार्यक्रमबाट अनलाईन प्रणालीमा आएका समस्याहरूको जानकारी र यसका विषयमा थप दीक्षित हुने र यसलाई तीब्र गतिका साथ व्यवस्थापन गर्न विशेष पहलकदमी गर्न विभागलाई थप उर्जा मिलेको छ ।
संगठन विभागको जिम्मेवारीमा बसेर महत्वपूर्ण योगदान गरेका नेता कमरेडहरूको अनुभवसहितको मार्गदर्शन पश्चात २०८० असोज ३० गते नेकपा (एमाले) केन्द्रीय संगठन विभागको १६औं बैठक विभागका प्रमुख कमरेड काशीनाथ अधिकारीको अध्यक्षतामा बस्यो । सम्पूर्ण सदस्यहरूको उपस्थितिमा बसेको यस बैठकले गरेका महत्वपूर्ण निर्णय यस प्रकार छन्ः
१.बैठकमा विभाग प्रमुख काशीनाथ अधिकारीले प्रस्तुत गर्नुभएको २०७९ र २०८० मा सम्पन्न पार्टी सदस्यता नवीकरण सम्बन्धी समग्र प्रतिवेदनलाई अनुमोदन गरियो । भारत–प्रवास र अन्तर्राष्ट्रिय कमिटी मातहतका सदस्यहरू बाहेक देशभित्र रहेका सदस्यहरूमध्ये संगठन विभागबाट साढे पाँच लाख सदस्य प्रमाणीकरण गरिएकोे छ ।
२.तोकिएको समयभित्रै पार्टी सदस्यता नवीकरण कार्य सम्पन्न गरी तोकिएकै समयावधिमा अधिवेशन सम्पन्न गर्न सफल भएकोमा पार्टीका सम्पूर्ण प्रदेश संगठन कमिटीहरूलाई धन्यवाद दिने र नवनिर्वाचित कमिटीहरूलाई बधाई दिने निर्णय भएको छ । त्यसका साथै नवनिर्वाचित प्रदेश कमिटीहरूले तत्काल मापदण्डका आधारमा प्रदेश कमिटीभित्र सचिवालय बनाउने, सबैलाई जिम्मेवारी हुनेगरी कार्यविभाजन गर्ने, पार्टी केन्द्रको अपानि – ७ मा उल्लेखित बार्षिक कार्ययोजनाको मार्गदर्शनमा प्रदेशको बार्षिक कार्ययोजना बनाउने र अधिवेशन पश्चात जिम्मेवारी बाहिर रहेका पार्टी नेता कार्यकर्ताहरूलाई पार्टी काममा उत्साहित ढङ्गले क्रियाशील हुने परिस्थितिको निर्माण गर्न प्रदेश कमिटीलाई ध्यानाकर्षण गर्ने ।
३.पार्टी तथा जनसंगठनका स्थानीय अधिवेशनहरूका सम्बन्धमा गरिएका निर्णयहरूः
जिल्ला र पालिका तहका पार्टी अधिवेशनहरू माघसम्म सम्पन्न गर्ने गरी कार्ययोजना बनाउने र फागुन र चैत्रमा सदस्यता नवीकरण अभियान सँगसँगै वडा तथा टोल तहका पार्टी अधिवेशनहरूको आयोजना गर्ने ।
केन्द्रीय संगठन विभागबाट प्रमाणीकरण गरिएको नवीकृत सदस्यहरूको सूचिमा रहेका पार्टी सदस्यहरूले मात्र स्थानीय पार्टी अधिवेशनको प्रक्रियामा सहभागी हुन पाउनेछन् ।
पार्टी आबद्ध जनसंगठनहरूको असार–असोज अभियानमा सम्पन्न गर्ने भनिएका प्रदेश तथा जिल्ला तहका अधिवेशनहरू आउने मंसिरभित्र आयोजना गरिसक्ने ।
४.पार्टीका नेता तथा कार्यकर्ताको राजनीतिक सांगठनिक विवरण व्यवस्थित गर्ने सिलसिलामा प्रारम्भमा केन्द्रीय निकायका कमरेडहरूको तत्सम्बन्धी जानकारी लिन फर्म बनाई तीन महिनाभित्र अभिलेख व्यवस्थित गर्ने ।
५.परीक्षणकालमा रहेका नयाँ पार्टी सदस्यहरूलाई प्रारम्भिक प्रशिक्षण दिनका लागि केन्द्रीय पार्टी स्कूलसँग परामर्श गर्ने र सो बमोजिम प्रशिक्षण चलाउने ।
६.साउनदेखि रोकिएको सदस्यता स्थानान्तरण कार्यलाई बैठकले खुला गर्ने निर्णय गरेको छ । सदस्यता स्थानान्तरण गर्न चाहने सदस्यले सम्बन्धित जिल्लाको अधिवेशनको मिति नतोकिँदासम्म आफ्नो सदस्यता स्थानान्तरण गर्न सक्नुहुने निर्णय गरिएको छ ।
७.विभिन्न कारणले सम्बन्धित कमिटीको कारवाहीमा परेका तर आफ्नो कमजोरी आत्मसात् गरी लिखित आत्मालोचना गरेका र व्यवहारबाट विश्वास जितेका कमरेडहरूलाई उपयुक्त जिम्मेवारी दिएर परिचालन गर्न उदारता अपनाउन निर्देशन गर्ने निर्णय गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ कार्तिक २०८०, १२ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संवैधानिक र लोकतान्त्रिक उपलब्धि रक्षाका लागि संवादमा आउन राजनीतिक दलहरूलाई एमालेको अपिल
भरतपुरमा एमाले पार्टी कार्यालयमा आगजनी
एमालेको केन्द्रीय कार्यालयमा आगजनी
एमाले मन्त्रीलाई राजीनामा नदिन प्रधानमन्त्रीको ह्विप
ओलीको झोले नबन्ने भन्दै एमाले छोड्नेको लर्काे
एमालेको भावी अध्यक्षमा ओली निर्विकल्प