काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा व्यहोरेको अप्रत्याशित पराजयको दुई महिना बितिसक्दा पनि औपचारिक समीक्षा सुरु हुन नसक्दा नेकपा एमालेभित्र नेतृत्व संकट थप गहिरिँदै गएको छ ।
तल्लो तहका कार्यकर्तादेखि युवा नेतासम्म असन्तुष्टि बढिरहेका बेला शीर्ष तहमा समेत पुनर्गठन र नेतृत्व हस्तान्तरणको बहस निर्णायक मोडतिर पुगेको देखिएको छ ।
राजधानीमा आयोजित भेलामार्फत युवा नेताहरूले पार्टी पुनर्गठनको औपचारिक दबाब अभियान सुरु गरेका छन् । नविना लामा, झपट रावल, समिक बडाल, रमेश पौडेल, गजेन्द्र थपलिया, रोशन बस्नेतलगायतका नेताहरूले वर्तमान संरचना र नेतृत्वबाट पार्टी पुनर्जागृत हुन नसक्ने निष्कर्षसहित व्यापक पुनर्गठनको प्रस्ताव अघि सारेका हुन् । उनीहरूको निष्कर्ष स्पष्ट छ, नेतृत्व हस्तान्तरण, पुस्तान्तरण र कार्यशैलीमा रूपान्तरण बिना गुमेको जनमत फर्काउन सम्भव छैन ।
युवाहरूले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर अभियानलाई पनि पुनः तीव्र बनाएका छन् । उनीहरूका अनुसार प्रारम्भिक चरणमै पाँच सयभन्दा बढी हस्ताक्षर संकलन भइसकेको छ भने अब जिल्ला–जिल्लामा अभियान विस्तार गर्ने तयारी छ । एमाले विधानअनुसार बहुमत प्रतिनिधि वा दुई तिहाइ जिल्ला कमिटीको माग पुगेमा ६ महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ ।
युवा तहको दबाबसँगै पार्टीको शीर्ष नेतृत्वभित्र पनि नयाँ ध्रुवीकरणको संकेत देखिएको छ । अध्यक्ष केपी शर्मा ओलीनिकट मानिएका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलसमेत पुनर्गठनको पक्षमा खुलेर नआए पनि आन्तरिक रूपमा सक्रिय देखिएका छन् । स्रोतहरूका अनुसार यी दुई नेताले ओलीलाई भेटेरै ‘सम्मानजनक बहिर्गमन’को प्रस्ताव राखिसकेका छन् ।
उनीहरूको प्रस्तावमा अन्तरिम संगठन कमिटी गठन गरी निश्चित समयभित्र महाधिवेशनमा जाने, त्यसअघि केन्द्रदेखि जिल्ला तहसम्म संगठन पुनर्संरचना गर्ने खाका समेटिएको बताइन्छ । तर ओलीले उक्त प्रस्तावप्रति सकारात्मक प्रतिक्रिया नदिएको निकट स्रोतहरूको दाबी छ ।
पौडेल र पोखरेलको यो सक्रियताले एमालेभित्रको शक्ति सन्तुलनमा महत्वपूर्ण संकेत दिएको छ । उनीहरू खुल्दा पदाधिकारी तहमा नै नेतृत्व परिवर्तनको पक्षमा बहुमत बन्न सक्ने आकलन गरिएको छ ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र नेता ईश्वर पोखरेलनिकट समूहले पनि अध्यक्ष ओलीको बहिर्गमनलाई पुनर्गठनको पूर्वशर्तका रूपमा अघि सारेको छ । यो समूहले पहिलो चरणमा सहमतिमार्फत नेतृत्व परिवर्तनको प्रयास गर्ने र असफल भए पदाधिकारी तथा केन्द्रीय कमिटीमा बहुमतबाट निर्णय गराउने रणनीति बनाएको स्रोतहरू बताउँछन् ।
त्यसमा पनि सफलता नपाए विशेष महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गर्ने विकल्प खुला राखिएको छ । यद्यपि, यो समूह सार्वजनिक रूपमा आक्रामक नभई संस्थागत प्रक्रियामार्फत अघि बढ्ने रणनीतिमा देखिएको छ ।
पार्टीभित्र बहस तीव्र भइरहेका बेला अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाका कारण केन्द्रीय कमिटी बैठक अनिश्चित बनेको छ । पितृशोक, गिरफ्तारी र पछिल्लो शल्यक्रियापछि देखिएको स्वास्थ्य समस्याका कारण ओली अझै आराममै रहेकाले तत्काल बैठक बस्ने सम्भावना कम रहेको नेताहरू बताउँछन् ।
यसले पार्टीभित्रको निर्णय प्रक्रिया थप ढिलाइ हुँदै गएको छ भने असन्तुष्टि झनै बढाएको छ । प्रदेश र जिल्लाबाट समीक्षा प्रतिवेदनहरू आए पनि औपचारिक छलफल हुन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ बैशाख २०८३, ०९ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकार अध्यादेशमार्फत अघि बढेको भन्दै एमालेको कडा आपत्ति
सुकुम्वासी बस्ती हटाउने सरकारी तयारीप्रति एमालेको आपत्ति
एमाले प्रमुख सचेतकमा ऐन महर
आज नेपाल कम्युनिष्ट पार्टीको ७७औँ स्थापना दिवस, एमालेले विशेष कार्यक्रम गर्दै
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
एमालेका घोषित आन्दोलन स्थगित