संघीय लोकतान्त्रिक गणतन्त्र खतरामा : उपेन्द्र यादव

सफल खबर संवाददाता

सोमबार, २९ असोज २०८०, १६ : ४९
संघीय लोकतान्त्रिक गणतन्त्र खतरामा : उपेन्द्र यादव

कैलाली । जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले संघीय लोकतान्त्रिक गणतन्त्र खतरामा रहेको बताएका छन् । कैलालीको धनगढीमा आयोजना गरिएको समाजवादी मोर्चाको सन्देश सभामा बोल्दै उनले विभिन्न कारणले अहिलेको उपलब्धि गुम्ने खतरामा पुगेको बताएका हुन् ।

‘नेपालमा जातीय द्वन्द्व फैलाउने सद्भाव र एकता भएको मुलुकमा धार्मिक द्वन्द्व फैलाएर संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पर्ने खेल भइरहेको छ । यसलाई संस्थापन गर्नु ठुलो चुनौती छ’ उनले भने, ‘हाम्रो गल्तीले लोकतन्त्र गुम्न सक्छ । अरूलाई दोष दिएर बस्न सकिँदैन । ’

सरकार सदन र सडकबाट गणतन्त्र विरोधी शक्तिलाई पाखा लगाउनु पर्ने र कानुन बनाएर संघीय गणतन्त्रलाई संस्थागत गर्नु पर्ने दाइत्व रहेको यादवले बताए । प्रदेश सरकार अहिले जिम्मेवारी विहीन जस्तो भएको यादवको भनाइ थियो । ‘प्रदेश सरकारमा झन्डा छ गाडी छ कानुन छैन प्रशासन छैन यस्तो पनि सरकार हुन्छ ?’ उनले भने।

ठूलो परिवर्तनबाट आएको उपलब्धी संस्थागत गर्न र जनतालाई परिवर्तनको अनुभूति गराउन समाजवादी मोर्चा गठन गरिएको यादवले बताए । उनले रेशम चौधरीलाई रिहा गर्दा पनि थारु नागरिकहरूको समस्या हल नभएको बताए ।

जेलबाट रेशम चौधरीलाई रिहा गर्‍यौँ तर, थारुहरूको समस्या हल भएको छैन । सुकुम्वासीहरूका समस्या हल भएको छैन । किसानका समस्या हल भएका छैनन् उनले भने, ‘गरिबी र बेरोजगारी बढ्दो अवस्थामा । व्यवस्था बदलियो तर, अवस्था बदलिएको छैन । अब हामीले जनताको अवस्था बदल्नुपर्छ । ’

समाजवादी मोर्चाबाट जनताले धेरै आस गरेको यादवको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस