काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले ‘विश्व हात धुने दिवस’, २०२३ को अवसरमा सम्पूर्ण नेपालीमा स्वच्छ र स्वस्थ जीवनका लागि शुभकामना व्यक्त गरेका छन् । सन् २००८ यता विश्वभर हरेक वर्ष अक्टोबर १५ मा यो दिवस मनाइन्छ ।
उनले शुभकामना सन्देशमार्फत साबुनपानीले हात धुँदा पखाला र निमोनियाको जोखिम कम हुनुका साथै गम्भीर रोग र अनाहकमा मुत्यु हुनबाट पनि जोगाउन सहयोग पुग्ने उल्लेख गरे । साबुनपानीले हात धुँदा इन्फ्लुएन्जा र कोभिड–१९ लगायत अन्य सङ्क्रमण र भाइरसको विस्तारलाई पनि रोक्ने उनले बताए ।
यो दिवस विश्वभरका मानिसलाई हात धुने बानीमा सुधारका लागि उत्प्रेरित र परिचालन गर्ने एउटा अन्तर्राष्ट्रिय अभियानका रूपमा घोषणा गरिएको हो । सन् २००८ मा पहिलोपटक विश्वभर हात धुने दिवस मनाइएको थियो । जीवाणु (ब्याक्टेरिया) र विषाणु (भाइरस) जन्य रोग लाग्नबाट रोक्ने र जीवन बचाउने सजिलो, प्रभावकारी र किफायती तरिका साबुनपानीले हात धुनु हो ।
साबुनपानीले हात धुँदा कीटाणुहरूबाट मुक्ति पाउनुका साथै आफूलाई र आफ्ना वरपरका मानिसलाई बिरामी हुनबाट जोगाउँदछ । खाना पकाउनुअघि र पछि, खाना खानुअघि र पछि, शौचालय गएपछि, नाक–मुख–आँखा छोएपछि, खोक्दा वा हाछयुँ गर्दा हातले छोपेपछि हात धुने स्वस्थ बानी सबैले बसाल्न जरुरी रहेको उनले उल्लेख गरे ।
उपराष्ट्रपति यादवले अधिकांश अवस्थामा सङ्क्रमण मानिसको हातकै माध्यमबाट हुने गरेको उल्लेख गर्दै एक व्यक्तिबाट अर्कोमा विषाणु सर्ने प्रमुख माध्यम पनि हात नै भएकाले विद्यालय, कार्यालय, सार्वजनिकस्थल, यातायात, चर्पीआदिको प्रयोग गरेपछि साबुनपानीले राम्ररी हात सफा गर्नुपर्ने बताए । यो दिवसलाई साबुनपानीले हातधुने बानी बसाल्ने प्रण र सङ्कल्प लिने दिवसका रूपमा सबैले लिनुपर्ने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ असोज २०८०, ०७ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भियतनामका उपराष्ट्रपति आज नेपाल आउँदै
जलवायु परिवर्तनका चुनौतीको समयमै समाधान गरौँ : उपराष्ट्रपति यादव
भारतका उपराष्ट्रपतिले दिए राजीनामा
फ्रान्सको राष्ट्रिय दिवस समारोहमा उपराष्ट्रपति सरिक
स्काउटले युवापुस्तामा अनुशासन र सेवा विकास गर्नु सकारात्मक छ: उपराष्ट्रपति यादव
उपराष्ट्रपति यादव स्वागत समारोहमा