अर्थतन्त्रमा संरचनात्मक समस्या देखियो : अध्यक्ष ढकाल

सफल खबर संवाददाता

विहीबार, २५ असोज २०८०, ११ : ३५
अर्थतन्त्रमा संरचनात्मक समस्या देखियो : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्रलाई सरकारले पेलेर जाने गरेको गुनासो गरेका छन् । उनले निजी क्षेत्रमैत्री वातावरण निर्माण गर्न सरकारलाई आग्रह गरे ।

आज काठमाडौंमा आयोजित आर्थिक बहस कार्यक्रमलाई सम्बोधन गर्दै उनले निजी क्षेत्रलाई सधैं पेलेर अगाडि बढे अर्थतन्त्रमा झन् संकटमा जाने चेतावनी दिए । ‘निजी क्षेत्र चलायमान नहुँदा राजश्व घटिरहेको विदितै छ । उच्च मूल्यवृद्धि छ,’ उनले भने, ‘निजी क्षेत्रमैत्री वातावरण होस् । हामीले समयमा सही नीति लिन सकेनौं र टालटुले ढंगले गयौं भने धेरै असजिलो अवस्थामा जान्छौं ।’

अर्थतन्त्र संकटतर्फ धकेलिएको अवस्थामा बजेट, मौद्रिक नीति जस्ता राज्यको नीतिहरु व्यवसायी मैत्री नभएको अध्यक्ष ढकालले बताए । अर्थतन्त्रको सुधारका लागि कदम चालेको भन्दै नीति ल्याउने तर उद्योगी व्यवसायीलाई घुमाउरो ढंगबाट लखेट्ने काम भएको अध्यक्ष ढकालले गुनासो गरे । ‘अर्थतन्त्र समस्यामा छ तर राज्य अनेक ढंगबाट निजी क्षेत्रलाई लखेट्ने काम भइरहेको छ,’ अध्यक्ष ढकालले प्रश्न गरे, ‘यसरी गएर कहाँ पुगिन्छ ?’

संसदीय समितिमा निजी क्षेत्रलाई अख्तियारले पनि हेर्ने गरी भएको छलफलप्रति पनि ढकालले आपत्ति जनाए । ‘प्रधानमन्त्रीको निर्देशनमा रोकिएको यो विषय पुनः छलफलमा आएपछि  हामी झस्किएका छौं’ अध्यक्ष ढकालले भने । राज्यका नियामकहरु व्यक्तिलाई पेलेर समग्र अर्थतन्त्रमा समस्या ल्याउनमा उद्दत रहेको उनले आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस