कोशीमा आफ्नै नेतृत्वमा सरकार बनाउन राप्रपालाई मनाउने कांग्रेसको तयारी

सफल खबर संवाददाता

मंगलबार, २३ असोज २०८०, १४ : ४७
कोशीमा आफ्नै नेतृत्वमा सरकार बनाउन राप्रपालाई मनाउने कांग्रेसको तयारी

काठमाडौं। नेपाली कांग्रेसले कोशीमा आफ्नै नेतृत्वमा सरकार बनाउन राप्रपालाई मनाउने निर्णय गरेको छ । मंगलवार बिहान पार्टी सभापति देउवा निवासमा बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।

दुई पटक आफ्नै नेतृत्वमा सरकार बनाउने प्रयास पूर्णतामा नपुगेपछि कांग्रेसले राप्रपालाई मनाउने निर्णय गरेको जानकारी प्रचार विभाग प्रमुख मीन विश्वकर्माले दिए।‘कोशीमा दुई/दुई पटक प्रयास गरे पनि असफल भयौं ।

तर फेरि कोशीमा बलियो सरकार बनाउन गठबन्धनसँग पनि कुरा गर्ने र राप्रपालाई पनि मनाउने निर्णय भएको छ’ विश्वकर्माले भने, ‘तर कांग्रेसको अडानका कारणले राजनीतिक परिस्थिति जटिल बनाउन हुँदैन भन्नेमा सचेत छौं ।’आफ्नै दलको नेतृत्वमा सरकार बनाउन सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र गठबन्धनका नेतासँग पनि छलफल गर्ने निर्णय कांग्रेसले गरेको छ । 

तर मुख्य प्राथमिकता राप्रपालाई नै मनाउने रहेको विश्वकर्मा बताउँछन् । ‘कोशीमा राप्रपा निर्णायक छ । निर्णायक भएकोले उसले पनि दाबी गर्नु अन्यथा होइन’ विश्वकर्मा भन्छन्, ‘तर सानो दलले सरकारको नेतृत्व गर्दाका जोखिम र अप्ठ्यारो केन्द्रमा भएजस्तै कोशीमा पनि नहोस् भन्नेमा सचेत हुँदै पहल गर्ने हाम्रो निर्णय छ ।’

कोशीमा कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र जसपा मिले पनि सरकार गठनका लागि बहुमत पुग्ने अवस्था देखिएको छैन ।यस्तोमा ६ सिट भएको राप्रपालाई मनाउनुपर्ने अवस्थामा सत्ता गठबन्धनका दल पुगेका हुन् । कोशीमा एमालेको ३९, राप्रपाको ६ सिटले पनि बहुमत पुग्ने अवस्था नदेखिएपछि मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा दिएका छन् । यसैले नयाँ सरकार गठनको अर्को प्रक्रिया शुरू भएको छ ।

अब बहुमत पुर्याउन सक्ने संसद सदस्यले सरकारमा दाबी गर्नुपर्नेछ ।देउवाले पदाधिकारी र पूर्व पदाधिकारीको बैठकमा इजरायलमा भएको घटनाका सम्बन्धमा परराष्ट्र मन्त्रीबाट जानकारी लिएका थिए । त्यस्तै संसदमा प्रस्तुत भएका विधेयक र कांग्रेसको तयारीबारे पनि प्रमुख सचेतक र सचेतकसँग छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस