सभापति देउवाले नै विशेष महाधिवेशनको उद्घाटन गर्ने गगन-विश्व पक्षको विश्वास

सफल खबर संवाददाता

शुक्रबार, २५ पुस २०८२, १७ : ४२
सभापति देउवाले नै विशेष महाधिवेशनको उद्घाटन गर्ने गगन-विश्व पक्षको विश्वास

काठमाडौँ । नेपाली काँग्रेसका विशेष महाधिवेशन पक्षधरले महाधिवेशनको उद्घाटन सभापति शेरबहादुर देउवाले नै गर्ने विश्वास व्यक्त गरेका छन् ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेपछि पार्टीपंक्ति विभाजित छ ।

तर आज काठमाडौँमा पत्रकार सम्मेलन गरेर विशेष महाधिवेशन पक्षधरको तर्फबाट बोल्दै नेता जगदीश्वरनरसिंह केसीले सभापतिलाई महामन्त्रीहरूले पत्र पठाउने बताए ।

उनले भने, ‘उहाँले नै आएर उद्घाटन समारोहमा उपस्थित हुनुहुनेछ । महामन्त्रीहरूले पत्र दिइसकेको अवस्था छ । उहाँ नै उपस्थित भएर उद्घाटन हुन्छ भन्ने हामी विशेष महाधिवेशनमा हस्ताक्षर गरेकाहरूले विश्वास गरेका छौँ ।’

विशेष महाधिवेशनको उद्घाटन सत्र पुस २७ गते दिउँसो १ देखि ४ बजेसम्म भृकुटीमण्डपमा हुँदै छ ।