कृषि विश्वविद्यालयका पदाधिकारीमाथि छानबीन र कारबाहीको माग

सफल खबर संवाददाता

सोमबार, ०४ भदौ २०७५, १८ : २२
कृषि विश्वविद्यालयका पदाधिकारीमाथि छानबीन र कारबाहीको माग

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालयका पदाधिकारीले सरकारीरुपमा खारेज भैसकेको निजी सम्बन्धनलाई पैसाको आडमा ब्युँताउन खोजेको भन्दै प्राध्यापकहरुले कृषि विश्वविद्यालयका पदाधिकारीमाथि छानबीन र कारबाहीको माग गरेका छन् ।
नेपाल प्रगतिशील प्राध्यापक संगठनका कार्यवाहक अध्यक्ष उदितप्रकाश सिग्देल र नेपाल राष्ट्रिय प्राध्यापक संगठनका सचिव डा. शंकरराज बर्सिलाले सोमबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् । उनीहरुले विश्वविद्यालय, सरकार, संविधान र कानुन विपरीत जाने पदाधिकारी लगायतलाई यथाशीघ्र कारबाही नभए सशक्त आन्दोलन अगाडि बढाउने चेतावनी दिएका छन् ।
‘कृषि विषयको गुणस्तरीय शिक्षाको लागि स्थापित देशको एकमात्र विषयगत प्राविधिक विश्वविद्यालय कृषि तथा वन विज्ञान विश्वविद्यालयले विगतका सहमति विपरीत अवैज्ञानिक रुपमा मनपरी ढंगले २०७५ असार २० गते देशका विभिन्न आठ वटा निजी कलेजलाई दिएको सम्बन्धन २०७५ साउन १४ गते बसेको मन्त्रिपरिषदको बैठकले सम्पूर्ण रुपमा रद्द गरिसकेको सर्वविदितै छ’ विज्ञप्तिमा भनिएको छ, ‘विश्वविद्यालयको जिम्मेवार पदमा बसेर मन्त्रिपरिषदको निर्णयको प्रतिरक्षा गर्नुपर्नेमा गैरजिम्मेवार भई अभिव्यक्ति दिने, निजी कलेजलाई बल पुग्ने गरी अख्तियार दुरुपयोग गरी कागजपत्र प्रदान गर्नेलगायतका गैरकानुनी क्रियाकलापमा संलग्न सम्पूर्ण पदाधिकारीहरुलाई छानबीनको दायरामा ल्याई कानुनी कारबाहीको लागि माग गर्दछौँ ।’
आंगिक कलेजको भन्दा कमसल मापदण्ड बनाउनु र बनाइएको मापदण्ड पनि एक वर्षभित्र तयार पार्ने शर्तमा कलेज सम्बन्धनको प्रकृया अगाडि बढाउनु आफैमा नीतिगत भ्रष्टाचार भएको विज्ञप्तिमा उल्लेख छ ।


 

प्रतिक्रिया दिनुहोस