नेताहरू सरकारी खर्चमा उपचार गर्न विदेश जाने नीति बन्द भयो : स्वास्थ्यमन्त्री बस्नेत

सफल खबर संवाददाता

बुधबार, १० असोज २०८०, २० : ५५
नेताहरू सरकारी खर्चमा उपचार गर्न विदेश जाने नीति बन्द भयो : स्वास्थ्यमन्त्री बस्नेत

चितवन । नेपाली चिकित्सकसँग विदेशीहरू पढ्न आउने तर नेपाली नेताहरू भने उपचार गर्नका लागि विदेश जाने गरेको स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले बताएका छन् । यस्तो गर्नु स्वास्थ्य क्षेत्रमा बेथिति ल्याउनु भएको भन्दै मन्त्री बस्नेतले उक्त प्रवृत्तिलाई सरकारले बन्द गरेको बताए । 

मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रमा देखिएका बेथिति नियन्त्रण गर्ने पनि बताएका छन् । १९ औँ राष्ट्रिय क्यान्सर सतर्कता दिवस तथा वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको २४ औँ वार्षिकोत्सव समारोहलाई बुधबार सम्बोधन गर्दै उनले जनताको आक्रोश र गुनासो आएको भन्दै यसलाई नियन्त्रण गर्दै जाने बताए । 

उपचारको अभावमा कोही नेपाली मर्नु नपर्ने गरी सरकारले काम गरेको मन्त्री बस्नेतले बताएका छन् । उपचारका लागि खर्च अभावमा कसैले पनि ज्यान गुमाउनु नपर्ने गरी काम भइरहेको बताए । शिक्षा र स्वास्थ्य नैसर्गिक अधिकार भएको भन्दै उनले संविधानमा लेखिएको कुरा निःशुल्क गर्दै जाने बताए । 

वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई प्रतिष्ठानको रूपमा विकास गर्न सरकारले सहयोग गर्ने मन्त्री बस्नेतको भनाइ थियो । उनले भने, ‘तपाईँहरू अस्पताललाई उत्कृष्ट बनाउनुस् । विस्तारको काममा सरकारले सहयोग गर्छ ।’

बजेट अभाव भयो भनेर पछि हट्ने काम गर्न नहुने उनको भनाइ थियो । सरकाले अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मीको दरबन्दी थप गर्न प्रक्रिया सुरु गर्ने भन्दै उनले अहिले गाउँ गाउँमा चिकित्सक पुर्‍याउने अभियान चलाइएको जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस