कक्षा पाँच, शिक्षक चार, विद्यार्थी तीन

आइतबार, ०३ भदौ २०७५, १९ : ५०
कक्षा पाँच, शिक्षक चार, विद्यार्थी तीन

डडेल्धुरा l कक्षा ५ सम्म रहेको पूर्णागिरि प्राथमिक विद्यालय जिलोडा डडेल्धुरामा चार शिक्षक छन् । विद्यार्थी भने तीन जना मात्र । सदरमुकामबाट तीन किलोमिटर दूरीको सो विद्यालयमा ती विद्यार्थी नआएको महिनौं भइसकेको शिक्षकहरु बताउँछन् । 
गाउँनजिकै विद्यालय भए पनि आफ्ना बालबालिका निजी विद्यालयमा पढाउन थालेपछि समस्या उत्पन्न भएको विद्यालयका शिक्षिका कल्पना ओझा बताउनुहुन्छ । उक्त विद्यालयमा भर्ना भएका केही शारीरिक रुपले अपाङ्गता भएका बालबालिका सदरमुकामको बालमन्दिरमा राखिएको विद्यालय निरीक्षक नारायण भट्टले बताउनुभयो । 
जिल्लाका धेरैजसो ग्रामीण क्षेत्रका प्राथमिक विद्यालयमा विद्यार्थी सङ्ख्या न्यून छन् । विभिन्न कारण र बालबालिकाले धेरै टाढाको विद्यालयसम्म जान आउन समस्या हुने हुँदा समायोजनमा कठिनाइ भएको विद्यालय निरीक्षक भट्टको भनाइ छ । 
पूर्णागिरिमा मात्रै होइन सदरमुकाम नजिकैको असीग्राम प्राथमिक विद्यालयको अवस्था पनि त्यस्तै छ । कक्षा ५ सम्म सञ्चालनमा भइरहेको सो विद्यालयमा १४ विद्यार्थी भर्ना भएका छन् । शिक्षक ६ जना छन् । प्रत्येक कक्षामा दुई÷तीन विद्यार्थी मात्रै विद्यालयमा पढ्न आउने गरेको शिक्षक बताउँछन् । 
यी विद्यालय प्रतिनिधि मात्रै हुन् । डडेल्धुरामा यस्ता विद्यालय छन् जहाँ वषौंदेखि विद्यार्थीको अनुपातमा शिक्षक बढी छन् । अभिभावकले सामुदायिक विद्यालयलाई हेर्ने दृष्टिकोण र बालबालिकालाई निजी विद्यालयमा भर्ना गर्ने प्रवृत्तिले थोरै बालबालिका भर्ना भएका असिग्राम प्राथमिक विद्यालयका प्रधानाध्यापक शुरतबहादुर रावल बताउनुहुन्छ । शिक्षा निमायवली २०५९ अनुसार पहाडी जिल्लामा एक शिक्षकका लागि ४५ विद्यार्थी हुनुपर्ने प्रावधान छ । 
विद्यार्थी नभएका यस्ता विद्यालयको नाममा वर्षेनी शिक्षकको तलबभत्तामा ठूलो धनराशि खर्च भइरहेको छ । विद्यार्थी कम भएका विद्यालयलाई समायोजन गरी शिक्षक र विद्यार्थीको अनुपात कायम गर्ने स्थानीय जनप्रतिनिधिको भनाइ छ । सामुदायिक विद्यालयमा पढाइको गुणस्तर नभएको भन्दै दुर्गम गाउँका मानिस बालबालिकालाई सदरमुकामका निजी विद्यालयमा पढाइरहेका छन् । (रासस)

प्रतिक्रिया दिनुहोस