कार्यशैली सच्याउन देउवालाई शेखरको चेतावनी

सफल खबर संवाददाता

बुधबार, ०३ असोज २०८०, १३ : ४४
कार्यशैली सच्याउन देउवालाई शेखरको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति आलोचना गरेका छन् । मंगलबार आफू पक्ष नेताहरूको भेलामा भएको सहमतिअनुसार देउवा निवास धुम्वाराही पुगेर कार्यशैलीप्रति असन्तुष्टि पोखेका हुन् ।

शेखरको साथमा धुम्बाराही उपसभापति धनराज गुरूङ र सहमहामन्त्री जीवन परियार पनि गएका थिए । भेटमा पार्टीको आन्तरिक समसमयिक विषयमा कुराकानी भएको सहमहामन्त्री परियारले बताए ।

प्रचण्ड नेतृत्वको सरकार र कोशी सरकारको विषयमा पनि ध्यानाकर्षण गराएको ती नेताले सुनाए । शेखर पछिल्लो सयम प्रचण्ड नेतृत्वको सरकारको विकल्प खोज्नुपर्ने बताउँदै आइरहेका छन् ।

ती नेताले थपे, ‘भोलिबाट केन्द्रीय समितिको बैठक त बस्दैछ । तर, सभापतिसँग व्यक्तिगत कुरा राखेपछि उहाँले सम्बोधन गर्नुभयो भने किन बैठकमा उठाउने भनेर शेखर दाइ जानुभएको हो ।’

भेटमा अब पनि एकलौटी चल्ने भए नयाँ ढंगले आफू अगाडि बढ्ने शेखरले चेतावनी दिएका थिए । तर, शेखरको कुरा सुनिसकेपछि देउवाले आफू मिलाएर पार्टीलाई एकताबद्ध बनाएर लैजान तयार रहेको बताएका थिए ।

केन्द्रीय समितिको बैठकमा प्रस्तुत हुने रणनीतिबारे शेखरले मंगलबार आफूनिकटका नेताहरूसँग छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस