अनुषा थापा
सांसद ज्ञानेन्द्र शाहीको शैक्षिक योग्यतादेखि लिएर वैवाहिक जीवनमाथि नै गम्भीर प्रश्न उठेको छ । जुम्लाको सिञ्जा गाउँपालिका–३, नाराकोटका उनी यसअघि पनि पटक–पटक विवादमा तानिइसकेका छन् । पोहोर सुर्खेतमा कुटाइ खाएको कुरालाई उनले राजनीतिको खुड्किलो बनाएका थिए । हाल राप्रपाको प्रवक्तासमेत रहेका उनको शैक्षिक योग्यता नै शंकास्पद रहेको पाइएको छ ।
एसएलसीको सर्टिफिकेटमै खोट देखिएको छ । जुम्लाको कैलाश माविबाट वि.सं. २०६३ सालमा एसएलसी दिएका हुन् । सिम्बोल नम्बर (०६३०२५१ के) भएका उनले २०७२ सालमा बल्ल एसएलसी उत्तीर्ण गरेका थिए । त्यस्तै, संघीय संसद् सचिवालय र निर्वाचन आयोगमा पेश गरेको विवरणसमेत बाझिएको छ । आयोगसमक्ष प्रस्तुत विवरणमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर उत्तीर्ण भन्ने व्यहोरा उल्लेख छ ।
त्यस्तै, संघीय संसद् सचिवालयमा बुझाइएको वैयक्तिक विवरणमा सिए अध्ययनरत भनिएको छ । तर, उनले कक्षा १२ उत्तीर्ण गरेको आधिकारिक रेकर्ड कतै छैन । एसएलसी सकाएपछि उच्च शिक्षा अध्ययनका लागि काठमाडौं आएका उनी त्रिचन्द्र क्याम्पसमा भर्ना भएका थिए । विज्ञान संकायमा रहँदा माओवादी केन्द्रनिकट विद्यार्थी संगठनमा सक्रिय थिए ।
कक्षा १२ को परीक्षा नदिइकन सानोठिमी क्याम्पसमा भर्ना भए । त्यससँगै भक्तपुर बहुमुखी क्याम्पसमा पनि भर्ना गरे । तर, शाहीको रजिष्ट्रेशन नम्बरबाट कक्षा १२ को प्रमाण खोज्दा भेटिँदैन । रोचक विषय के भने वि.सं ०६७ सालसम्म कक्षा १२ को परीक्षा दिइरहेको देखिन्छ भने त्योभन्दा एक वर्षअगाडि नै भारतको बिहारबाट कक्षा १२ को सर्टिफिकेट निकालिएको छ ।
तत्कालीन ‘हाइयर सेकेण्डरी एजुकेशन बोर्ड, नेपालबाट’ कक्षा १२ को परीक्षा दिइरहेका उनले बिहारबाट कसरी सर्टिफिकेट निकाले ? जबकि उनी त्यतिबेलासम्म नेपालमै थिए । त्यसपछि सिए अध्ययनका लागि भनेर भारत गएका शाही कुनै शिक्षण संस्थामा भर्ना भएको रेकर्ड छैन । उनको शैक्षिक प्रमाणपत्र कीर्ते भएको स्रोत बताउँछ । स्रोतका अनुसार शाहीको एसएलसीसम्मको सर्टिफिकेट आधिकारिक र त्यसपछि कीर्ते गरेर निकालिएको हो ।
सांसद शाही र एक जना महिलाको तस्बिर यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ । दुवैजना बेहुला बेहुलीको पहिरनमा एकअर्कालाई अंगालो हालिरहेका छन् । दुबोको माला लगाएर, एकअर्काको हात समाएर खिचेको फोटोले निकै चर्चा पाएको छ । ती महिला को हुन् ? उत्सुकताको विषय बनेको छ । किनकि शाहीले अहिलेसम्म पनि आफ्नो विवाहबारे खुलाएका थिएनन् । अविवाहित ठानिएका सांसदको एकाएक त्यस्तो तस्बिर सार्वजनिक भएपछि प्रश्न उठ्नु स्वाभाविकै हो । शाहीसँग तस्बिरमा देखिएकी महिला इन्दु सिंह हुन् । पेशाले नर्स इन्दुलाई शाहीले विभिन्न आश्वासन देखाएर विवाह गरेका थिए । तनहुँ घर भएर भक्तपुरको सूर्यविनायकमा व्यवसाय गर्दै आएका प्रेम सिंहको छोरी इन्दुसँग उनको सानोठिमी क्याम्पस पढ्दा चिनजान भएको थियो ।
त्यहींबाट प्रेम सम्बन्ध शुरु भयो तर इन्दुको परिवार शाहीसँग छोरीको सम्बन्ध स्विकार्न तयार थिएन । शाही भारत जानुअगावै उनको परिवारले यो कुरा थाहा पाइसकेको थियो । सिए अध्ययनका लागि भारत गएका शाही फर्किंदा इन्दु चितवन मेडिकल कलेजमा नर्सिङ अध्ययनरत थिइन् ।
इन्दुकै कलेजमा पुगेर उनले विवाहको लागि दबाब दिए । आफूसँग विवाह नगरे नारायणी नदीमा हाम्फालेर ज्यान दिने भनी ‘ब्ल्याकमेलिङ’ गरे । आत्महत्या गर्ने धम्की आएपछि इन्दुले विवाहका लागि सहमति जनाइन् । उनीहरूले ६ वर्षअगाडि गैंडाकोटस्थित मौलाकालिका मन्दिरमा विवाह गरे तर जे उद्देश्यका लागि शाहीले विवाह गरेका थिए, त्यसको ठ्याक्कै उल्टो भइदियो । उनले इन्दुलाई माओवादी नेता एवं पूर्व कानुनमन्त्री प्रेमबहादुर सिंहको छोरी ठानेका थिए ।
पूर्वमन्त्रीबाट काठमाडौंको बानेश्वरमा घर पाइने आशमा थिए, शाही । तर उनको सपना केही दिनमै टुट्यो । उनले इन्दु पूर्वमन्त्री सिंहको छोरी नभएको थाहा पाए । साथै, इन्दु दलित भएको पनि खुल्यो । ठकुरीको छोरी भन्ठानेका शाही त्यसपछि इन्दुसँग टाढिन थाले । इन्दुले पटकपटक विवाह दर्ता गर्न आग्रह गरिन् तर उनले मानेनन् ।
दलित भएकै कारण शाहीको परिवारले इन्दुलाई बुहारी स्विकारेको छैन । श्रीमान्ले उनलाई श्रीमतीको दर्जासमेत नदिएको अवस्था छ । शाहीकै कारण इन्दुले पटकपटक आत्महत्याको प्रयास गरिसकेकी छन् । सुर्खेतस्थित अस्पतालमा कार्यरत हुँदा एक पटक आत्महत्याको कोसिस गरेकी थिइन् । अस्पतालको भवनबाट हाम्फालेपछि उनलाई हेलिकप्टर चार्टर गरेर माइती पक्षले काठमाडौं ल्यायो । राष्ट्रिय ट्रमा सेन्टरमा २५ दिनको बसाइपछि उनी घर फर्किएकी थिइन् ।
श्रीमतीमाथि उक्त घटना भएको सात दिनपछि मात्र शाही अस्पताल पुगे । त्यतिबेला इन्दुको भाइले शाहीमाथि हातपात गरे । हाल इन्दुको परिवारले शाहीविरुद्ध राष्ट्रिय महिला आयोग र दलित आयोगमा उजुरी दिन लागेको बुझिएको छ । इन्दुसँग वैवाहिक सम्बन्ध हुँदाहुँदै पनि उनले अन्य थुप्रै युवतीसँग अनैतिक सम्बन्ध गाँसेको स्रोतले बतायो । बाग्लुङकी एक जना नर्ससँग त विवाह नै गरेको स्रोतको दाबी छ ।
दोस्रोपटक लकडाउन हुँदा बोधिसत्व बिहार भन्ने संस्थाले पश्चिम नेपालमा मेडिकल सामग्री वितरण गरेको थियो । शाही पनि मेडिकल सामग्री बाँड्ने टोलीमा थिए । टोलीमा गएकी एक जना खड्का थरकी युवतीलाई ललाईफकाई पारे । आफूलाई अविवाहित बताउँदै विवाहको प्रस्ताव राखे । बाग्लुङको एउटा मन्दिरमा सट्याकसुटुक विवाह पनि भयो ।
त्यसपछि उनीहरू सुर्खेत गए । राहत बाँड्न हिँडेका उनीहरूमाथि वीरेन्द्रनगर नगरपालिका–१३, करेखोलामा आक्रमण भयो । प्रहरीको भने सो आक्रमण नभई मदिरा सेवन गरेपछि विवाद हुँदा झडप भएको भनाइ छ । यद्यपि, शाहीले आफ्नो लोकप्रियतादेखि डराएर सत्ता पक्षका व्यक्तिहरूले आक्रमण गरेको बताएका थिए ।
त्यहाँका स्थानीयले शाही महिलाहरूसँग आपत्तिजनक अवस्थामा भेटिएपछि विवाद चर्किएको र दोहोरो झडप भएको बताएका थिए । यति हुँदासमेत उनको हर्कत रोकिएन । धादिङ घर भएर काठमाडौं बस्दै आएकी भट्टराई थरकी एक जना युवतीसँग ‘लिभिङ टुगेदर’ मा रहे । शाहीले उनलाई ‘पुकु’ भनेर बोलाउने गर्थे । ललितपुरको चाङ्गाथलीस्थित गोपाल चोकमा रहेको एक जना बस्नेतको घरमा शाहीले पुकुलाई आफूसँगै राखेका थिए ।
शाहीले पुकुलाई विवाह गर्ने बचन दिएको कुरा इन्दुको कानमा पर्यो । त्यसपछि नै उनी सुर्खेतस्थित अस्पतालबाट हाम्फालेकी हुन् । यो घटनापछि शाही र इन्दु काठमाडौंस्थित शक्ति ठकुरीको घरमा सँगै बस्थे । तैपनि श्रीमानको आनीबानी नसुध्रिएपछि इन्दुले पुनः आत्महत्याको कोसिस गरिन् ।
इन्दुले नै फेक आईडीमार्फत विवाहको तस्बिर सार्वजनिक गरेको र हाल उक्त विषयले सामाजिक सञ्जालमा तहल्का मच्चाइरहेको अवस्था छ । शाहीले उनकी श्रीमतीलाई सामाजिक सञ्जाल चलाउनसमेत बन्देज गरेका छन् । संघीय संसद् सचिवालयमा पेश गरेको विवरणमा श्रीमतीको नाम इन्दु शाही उल्लेख छ । यता, निर्वाचन आयोगको वैयक्तिक विवरणमा भने पति–पत्नीको नाम लेख्न राखिएको ठाउँ खाली छाडिएको छ ।
शाहीका स्वकीय सचिव प्रकाशसिंह नायकले उनको व्यक्तिगत कुरा उठाइरहन जरुरी नभएको बताए । विवाह गर्ने–नगर्ने व्यक्तिको नितान्त निजी विषय भएको उल्लेख गर्दै उनले भने, ‘सबैको सार्वजनिक र व्यक्तिगत जीवन हुन्छ । सार्वजनिक रूपमा गरेका कामहरूलाई मात्रै महत्व दिऊँ होला ।’ (जनआस्थाबाट)
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३१ भदौ २०८०, १४ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसदीय दलको नेता ज्ञानेन्द्र शाही र प्रमुख सचेतक खुश्बु ओलीलाई बनाउने राप्रपाको निर्णय
ज्ञानेन्द्र शाहीलाई संसदीय दलको नेता बनाउने राप्रपाको तयारी
ज्ञानेन्द्र शाहीको चुनावी खर्च साढे २० लाख
जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही विजयी
जुम्लामा ज्ञानेन्द्र शाही फराकिलो अग्रतामा
चुनावपछि राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्रीको कुर्सीमा पुर्याउँछाैँ : ज्ञानेन्द्र शाही