छात्रवृत्ति विवरण नबुझाउने विद्यालयलाई २५ हजार जरिवाना

सुमन गैरे

शनिबार, ०२ भदौ २०७५, १९ : ०४
छात्रवृत्ति विवरण नबुझाउने विद्यालयलाई २५ हजार जरिवाना

चितवन । शैक्षिक शत्र सुरु भएको दुई महिनाभित्र बुझाउनु पर्ने माध्यमिक छात्रवृत्ति विवरण चितवनका केही संस्थागत विद्यालयले अहिलेसम्म बुझाएका छैन ।
छात्रवृत्ति दिनुपर्ने विपन्न, अपाङ्ग, महिला, दलित, जानजाति, द्वन्द्वपीडित र सहिद परिवारका विद्यार्थीको विवरण पठाउने म्याद साउन मसान्तसम्म तोकिएता पनि १६ वटा संस्थागत विद्यालयले अझै अटेर गरेको बताइएको छ ।
शैक्षिक महाशाखाका शाखा अधिकृत बाबुराम दवाडीका अनुसार विवरण नबुझाउने विद्यालयहरुमा कल्याणपुरको स्मल हेभन स्कुल, नारायणगढका सिद्धार्थ र भृकुटी आ.मा.वि., भरतपुरका अर्किड, एडभान्चर, हिलवर्ड, मूनलाइट आमावि र डन एकेडेमी रहेका छन् ।
त्यस्तै बाल्मीकि शिक्षा सदन, विद्या विकास, ग्लोरियस, ग्रामोदय, अरविट, सिर्जना आमावि र शिवनगरको नारायणी विद्यामन्दिरले पनि तोकिएको समयमा छात्रवृत्ति विवरण बुझाएनन् । शिक्षा ऐन (संशोधनसहित) २०२८, संस्थागत मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ (संशोधित) र संस्थागत विद्यालय छात्रवृत्ति निर्देशिका २०७४ बमोजिम सबै संस्थागत विद्यालयहरुले कुल विद्यार्थी संख्याको कम्तीमा १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउनुपर्ने छ । उक्त छात्रवृत्तिको विवरण विद्यालय सञ्चालन भएको २ महिनाभित्र महानगरको शैक्षिक महाशाखामा बुझाउनुपर्ने बताइएको छ ।
तोकिएको समयमा छात्रवृत्ति विवरण उपलब्ध नगराएका विद्यालयहरुलाई शिक्षा ऐनको दफा १७ को उपदफा (२)ग बमोजिम जरिवाना गरी छात्रवृत्ति उपलब्ध गराउन लगाइने शैक्षिक महाशाखाका शाखा अधिकृत दवाडीलबताए ।
सो ऐनको उल्लघंन गर्नेलाई २५ हजारसम्म जरिवाना र विद्यालयलाई दिइएको अनुमति वा स्वीकृतिसमेत रद्ध गरिने कुरा ऐनमा उल्लेख भएको उनको भनाइ छ । यसैगरी ढिलैगरी भरतपुर महानगरपालिकाले कक्षा ११ र १२ को छात्रवृत्तिको कार्यविधि बनाएको छ ।
‘विद्यालय छात्रवृत्ति व्यवस्थापन कार्यविधि’ यसै हप्ता बस्ने महानगरको बोर्ड बैठकले पारित गरी कार्यान्वयनतर्फ लगिने महानगरका प्रमुख रेनु दाहालले जानकारी दिइन् । सो कार्यविधि पारित भई कार्यान्वयन भएपछि सबै विद्यालयका कक्षा १२ सम्मका गरिव, जेहेन्दार, विपन्न, अपांग, महिला, दलित, जनजाति, द्वन्द्वपीडित र सहिद परिवारका विद्यार्थीले छात्रवृत्तिको अवसर पाउने छन् ।

 

प्रतिक्रिया दिनुहोस