सत्तालोलुप शक्तिहरूको लुछाचुँडीले देश र प्रणाली नै गम्भीर दुर्घटनातिर उन्मुख हुँदै छ : बाबुराम भट्टराई

सफल खबर संवाददाता

सोमबार, ११ भदौ २०८०, ०८ : ३१
सत्तालोलुप शक्तिहरूको लुछाचुँडीले देश र प्रणाली नै गम्भीर दुर्घटनातिर उन्मुख हुँदै छ : बाबुराम भट्टराई

काठमाडौ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले चरम सत्तालोलुप, भ्रष्ट र अदूरदर्शी व्यक्ति/शक्तिहरूको सत्ता लुछाचुँडीले देश र संघीय लोकतान्त्रिक गणतान्त्रिक प्रणाली नै गम्भीर दुर्घटनातिर उन्मुख हुँदै गएको टिप्पणी गरेका छन् ।

सोमवार बिहानै सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया जनाउँदै उनले संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर शक्तिहरूबीच गम्भीर विमर्श, सहकार्य र दरो राष्ट्रिय एकता कायम गरेर अघि बढ्नुपर्ने बताएका हुन् । 

मुलुक आन्तरिक रूपमा पुँजी र श्रम दुवै पलायन भैरहेको गम्भीर संरचनात्मक समस्यामा र बाह्य रूपमा बढ्दो भारत-चीन-अमेरिकाको त्रिपक्षीय द्वन्दको भू-सामरिक भूमरीमा पर्दै गएको उनको भनाइ छ । 

यो गम्भीर स्थितिलाई बेलैमा वस्तुनिष्ठ आकलन गरेर सबै देशभक्त, लोकतान्त्रिक र प्रगतिशील शक्तिहरूले देश र जनताको हितमा आवश्यक पहल नगर्ने हो भने भोलि धेरै ढिलो भइसक्ने उनले बताएका छन् ।  

यस्तो छ उनको टिप्पणी
देश आन्तरिक रूपमा पुँजी र श्रम दुवै पलायन भैरहेको गम्भीर संरचनात्मक समस्यामा र बाह्य रूपमा बढ्दो भारत-चीन-अमेरिकाको त्रिपक्षीय द्वन्दको भू-सामरिक भूमरीमा पर्दै गएको बेला भर्खरै जग बस्दै गरेको संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर शक्तिहरूबीच गम्भीर विमर्श, सहकार्य र दरो राष्ट्रिय एकता कायम गरेर अघि बढ्नुपर्ने हो।

परन्तु चरम सत्तालोलुप ,भ्रष्ट र अदूरदर्शी व्यक्ति/शक्तिहरूको सत्ता लुछाचुँडीले यी गम्भीर संरचनात्मक समस्या हल गर्नेभन्दा समस्या झन् गिजोलिएर देश र संघीय लोकतान्त्रिक गणतान्त्रिक प्रणाली नै गम्भीर दुर्घटनातिर उन्मुख हुँदै गएको समकालीन नेपालको कटुसत्य हो। 

संघ र कोशीलगायत भैरहेका निर्लज्ज र अलोकतान्त्रिक सत्तालुछाचुँडी, आ-आफ्नै ढंगले उद्घाटित भैरहेका ठूला भ्रष्टाचार प्रकरणहरूको प्रवृत्ति, व्यक्ति/दल/गुटका आ-आफ्नै बाह्य शक्तिकेन्द्रहरूको चाकडी/दलाली त्यसका भद्दा नमूना हुन्।

यो गम्भीर स्थितिलाई बेलैमा वस्तुनिष्ठ आकलन गरेर सबै देशभक्त, लोकतान्त्रिक र प्रगतिशील शक्तिहरूले देश र जनताको हितमा आवश्यक पहल नगर्ने हो भने भोलि धेरै ढिलो हुनसक्छ! रणबहादुर र जंगबहादुरहरू त आउॅछन्,जान्छन् तर देश र जनतालाई धेरै ठूलो नोक्सान हुनसक्छ !

प्रतिक्रिया दिनुहोस