देशका विभिन्न स्थानबाट लागूऔषधसहित आठजना पक्राउ

सफल खबर संवाददाता

मंगलबार, ०५ भदौ २०८०, २१ : ०६
देशका विभिन्न स्थानबाट लागूऔषधसहित आठजना पक्राउ

काठमाडाैं । देशका विभिन्न स्थानबाट लागुऔषधसहित आठजना पक्राउ परेका छन् । कैलालीकाे धनगढी उपमहानगरपालिका-३ त्रिनगर ब्यारेलबाट अवैध लागूऔषध खैरो हेरोईन १ ग्रामसहित घोडाघोडी नगरपालिका-१० बस्ने २३ वर्षीय उमेश चौधरीलाई  प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । 

झापाकाे मेचीनगर नगरपालिका-६ स्थित पुरानो मेचीपुल अगाडिबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब २ ग्राम ५ सय मिलिग्रामसहित दमक नगरपालिका-९ बस्ने ३० वर्षीय रमेश सिवालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

झापाकै बिर्तामोड नगरपालिका-३ मेची आँखा अस्पताल नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ५ सय मिलिग्राम र नगद ७६ हजार ३ सय १५ रूपैयाँसहित सोही ठाउँ बस्ने ३४ वर्षीय रोसन राजवंशी समेत २ जनालाई प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । 

दाङकाे घोराही उपमहानगरपालिका-४ सिस्ने खोलाबाट  अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ सय १० मिलिग्रामसहित सोही उपमहानगरपालिका-१४ घर भएका ३८ वर्षीय राजु रोकामगर र सोही उपमहानगरपालिका-४ बस्ने २० वर्षीया सविता नेपालीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  घोराही उपमहानगरपालिका-४ सिस्ने खोला बस्ने सोमराज रैदासको घरमा लागूऔषध बिक्री भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङ र अस्थायी प्रहरी पोष्ट चौघेराबाट खटिएको प्रहरीले तलासी गर्दा उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यसैगरी दाङ, घोराही उपमहानगरपालिका-१७ भैसाही चोकबाट रा.३ प ६३३८ नम्बरको मोटरसाइकल चालक सोही उपमहानगरपालिका-१४ खोली गाउँ बस्ने ३२ वर्षीय शुशिल गहतराजलाई अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १ सय ५० मिलिग्रामसहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

सुर्खेतकाे भेरीगंगा नगरपालिका-१२ छिन्चु बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम ८९ मिलिग्रामसहित गुर्भाकोट नगरपालिका-१३ बस्ने १९ वर्षीय सनिम सिरिषलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।