रास्वपाका कार्यकर्ताको हर्कत पर्दाफास, सञ्चार उपकरण प्रयोगबारे छानबिन गर्न प्रहरीलाई प्रशासनको निर्देशन

सफल खबर संवाददाता

बुधबार, २४ साउन २०८०, १३ : ५५
रास्वपाका कार्यकर्ताको हर्कत पर्दाफास, सञ्चार उपकरण प्रयोगबारे छानबिन गर्न प्रहरीलाई प्रशासनको निर्देशन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले राष्ट्रिय स्वतन्त्र पार्टीको र्‍ यापिड एक्सन टिम ( र्‍याट) ले मुग्लिङ–नारायणगढ सडक खण्डको सडक खुलाउन तथा ट्राफिक व्यवस्थापन गर्न कुनै सहयोग नगरेको बताएको छ । रास्वपाले नारायणगढ–मुग्लिन सडकमा र्‍यापिड एक्सन टिम खटाएको दाबी गरेपनि प्रशासनले बुधवार एक विज्ञप्ति जारी गर्दै यसबारे ध्यानाकर्षण भएको जनाएको छ । 

‘मुग्लिङ–नारायणगढ सडक खण्डमा जाम परेका सवारी साधनलाई ट्राफिक व्यवस्थापन गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका र्‍ याट टिम कालिखोला लगायतका ठाउँहरूमा खटिएका छन् भनी सुन्तला रंगको ज्याकेटमा र्‍याट लेखि वाकीटकी संचार सहितका युवाको फोटो सहितको पोष्टमा यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ’, प्रशासनले भनेको छ ।  मंगलबार मुग्लिङ–नारायणगढ सडक खण्डको कालिखोला भन्ने स्थानमा माथिबाट लेदो सहितको पहिरो आई बाटो अवरुद्ध भएकोमा सुरक्षा निकाय र सडक विभाग सहितका राज्यका अङ्गबाट भएको श्रोत साधन र जनशक्ति प्रयोग गरी पहिरो पन्छाइएको प्रशासनको भनाइ छ ।  त्यसपछि सडक सुचारु गराई ट्राफिक व्यवस्थापन समेत गरेको दाबी गरिएपनि प्रशासनले त्यसमा कुनै अमुक दल तथा सो अन्तर्गतका सङ्गठनको सहयोग नलिइएको र लिन स्वीकृति नदिइएको पनि स्पष्ट गरेको छ ।

प्रशासनले रास्वपाका कार्यकर्ताले सञ्चारको साधन वाकिटकी समेत प्रयोग गरेको देखिएको भन्दै विज्ञप्तिमा भनेको छ, ‘उक्त संचार साधन स्वीकृति र दर्तावाल हो होइन छानबिन गर्न प्रहरीलाई निर्देशन गरिसकिएको व्यहोरा समेत जानकारी गराउँदै विपद्का यस्ता घटनाको राहत उद्धार र व्यवस्थापन गर्न सुरक्षा निकाय लगायत राज्यका अङ्गहरू सक्षम रहेको जानकारी गराउँदछौँ ।’ प्रशासनले  ठुला विपद्का घटनाहरूमा राजनीतिक दल, नागरिक समाज लगायत आम सर्वसाधारण नागरिकले कुनै दल विशेष वा सङ्गठनको परिचय बिना विशुद्ध स्वयंसेवी राहत उद्धारकर्मीको रूपमा जिल्ला तथा स्थानीय विपद व्यवस्थापन समितिको स्वीकृति र खटिएका सुरक्षाकर्मीको समन्वयमा मात्र उद्धारमा खटिन सक्ने पनि स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस