शिक्षा दिवस मनाउन आग्रह

शनिबार, २६ साउन २०७५, १३ : ०३
शिक्षा दिवस मनाउन आग्रह


काठमाडौँ  ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल यस वर्षको राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाउन प्रदेश र स्थानीय सरकारलाई आवश्यक तयारीमा लाग्न आग्रह गर्नुभएको छ ।

आगामी सेप्टेम्बर ८ (भदौ २३) मा हुने सो दिवसका संघीय गणतन्त्र नेपालको समाजवादउन्मुख शिक्षाको विकासतर्फ मुलुक अग्रसर भइरहेको सन्दर्भमा प्रदेश सरकारका सामाजिक विकास मन्त्रालय र सबै स्थानीय तहलाई दिवस सफल बनाउन लाग्न आग्रह गर्नुभएको हो । यस वर्षको राष्ट्रिय शिक्षा दिवस ३९औँ हो ।

दिवसका लागि गठित मूल समारोह समितिको बिहिबारको पहिलो बैठकको अध्यक्षता गर्दै मन्त्री पोखरेलले परिवर्तित समय सुहाउँदो शिक्षाका लागि सरोकारवाला पक्षको राय र सुझावका आधारमा नयाँ शिक्षा नीति ल्याइने जानकारी दिनुभयो । यही साउन १२ गतेको मन्त्रिस्तरीय निर्णयले १०२ सदस्यीय मूल समारोह समिति गठन गरेको थियो ।

समितिको बैठकले कार्यक्रम समन्वय, शैक्षिक स्मारिका प्रकाशन, सांस्कृतिक कार्यक्रम उपसमिति, प्रचारप्रसार, परिसंवादलगायत विभिन्न उपसमिति गठन गरेको छ । दिवसको आदर्श वाक्य तर्जुमाका लागि अलग्गै उपसमिति गठन गरिएको छ । -रासस

प्रतिक्रिया दिनुहोस