काठमाडौं केन्द्रित आन्दोलन गर्ने गौर हत्याकाण्डा पीडितहरुको चेतावनी

सफल खबर संवाददाता

विहीबार, १८ साउन २०८०, १२ : ०७
काठमाडौं केन्द्रित आन्दोलन गर्ने गौर हत्याकाण्डा पीडितहरुको चेतावनी

जनकपुरधाम । गौर हत्याकाण्ड पीडित संघर्ष समितिले आन्दोलनलाई काठमाडौं केन्दि्रत बनाउने चेतावनी दिएको छ ।बुधबार बसेको संघर्ष समितिको बैठकले घोषति आन्दोलनाई थप व्यापक बनाउने निर्णय गरेको हो ।

बुधबार साँझ संघर्ष समितिकी संयोजक रुपसागर देवी उपाध्यायले विज्ञप्ति जारी गर्दै राज्य उदासिन रहेको भन्दै आन्दोलनलाई काठमाडौं केन्द्रित बनाउन बाध्य हुने चेतावनी दिएकी हुन् ।‘…सरकारको भूमिकामा सुधार नआए हाम्रो रौतहटमा जारी धर्ना कार्यक्रमलाई सङ्घीय राजधानी काठमाडौंमा केन्द्रित गर्न बाध्य हुने विषय पनि यसै पत्रमार्फत जानकारी गराउन चाहन्छौं,’ विज्ञप्तिमा उल्लेख छ ।

रौतहटमा जारी आन्दोलनलाई मधेशका थप जिल्लाहरुमा उठान गर्ने निर्णय समेत बैठकले गरेको छ । संघर्ष समितिलाई सहयोग गरिरहेको प्रभु साह नेतृत्वको आम जनता पार्टीले आज पीडितले मधेश प्रदेशको आठवटै जिल्लाको जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउँदै छन् ।

१७ वर्षअघि तत्कालीन मधेशी जनअधिकार फोरम र नेकपा माओवादीले गौरको राइसमिलमा राखेको छुट्टाछुट्टै कार्यक्रममा झडप हुँदा २८ जना माओवादी कार्यकर्ता मारिएका थिए । जसमा दर्जनौ व्यक्ति घाइते समेत भएका थिए ।

तत्कालीन मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवलाई घटनाको मुख्य अभियुक्त बनाउँदै २५३ जनामाथि जिल्ला प्रहरी कार्यालयमा जाहेरी परेको थियो । तर हालसम्म प्रशासनले कारबाही प्रक्रिया अघि नबढाएको भन्दै पीडितहरु आन्दोलनमा उत्रेका छन् ।

दोषीहरुलाई अविलम्ब पक्राउ गरी कारबाहीको माग गर्दै संघर्ष समितिले साउन १२ गतेदेखि अनिश्चितकालीन आन्दोलन थालेको छ ।साउन १३ गतेदेखि रौतहटको चन्द्रनिगाहपुरमा पीडित परिवारहरु आमरण अनशनमा बसेका छन् ।

साउन १५ गते उनीहरुले रौतहटमा मोटरसाइकल जुलुस प्रदर्शन गरेका थिए । साउन १५ गतेदेखि अनिश्चितकालिन रौतहट बन्दको घोषणा गरेको थियो । तर जसपाको प्रतिकार गर्ने चेतावनीपछि मुठभेटको अवस्था आउन सक्ने कुरालाई मध्यनजर गर्दै संघर्ष समितिले बन्दको कार्यक्रम स्थगित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस