कृषि उत्पादन बढाउँन प्रविधिको प्रयोग जरुरी : कृषिमन्त्री भुसाल

सफल खबर संवाददाता

मंगलबार, १६ साउन २०८०, १९ : ०९
कृषि उत्पादन बढाउँन प्रविधिको प्रयोग जरुरी : कृषिमन्त्री भुसाल

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले नेपाल कृषि अनुसन्धान परिषद (नार्क) लाई उत्कृष्ट एवं नमुना अनुसन्धानको केन्द्रको रुपमा विकास गर्नुपर्ने बताएका छन् ।

ललितपुर स्थित खुमलटारमा आज नार्कद्धारा केन्द्रीय स्तरमा आयोजित चौथो त्रैमासिक तथा बार्षिक प्रगति समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले यस्तो बताएका हुन् । नार्क सहित कृषि अनुसन्धान तथा विकासका लागि मन्त्रालयले आवश्यक सहयोग गर्न तयार रहेको उनले बताए ।

‘नेपालको कषि अनुसन्धानलाई कृषक र उत्पादनसँग जोडदै कसरी अगाडि बढने भन्नेमा हाम्रो ध्यान जान जरुरी रहेको छ’ मन्त्री भुसालले भने, ‘वीउ, प्रविधि तथा नश्ल सुधारका लागि हाम्रो अनुसन्धान पनि गहन हुनुपर्छ ।’

उन्नत खालको बीउ र प्रविधिको प्रयोग नगरी उत्पादन बढाउँन नसकिने भएकाले यस विषयमा नार्कको महत्वपूर्ण योगदान हुने उनले बताए । कृषि तथा कृषकको बिकास कसरी हुन्छ भन्ने बिषयमा नार्कले आफ्नो अनुसन्धानबाट प्रमाणित गर्न सक्नुपर्छ ।

बीउ, प्रविधि तथा नश्ल सुधारका लागि भारतको कृषि अनुसन्धानसंग सहकार्यका लागि आईसीएआर तयार रहेको बताउँदै उनले नेपाल र भारतका बीचमा कृषिको क्षेत्रमा सहकार्य गर्न सकिने बताए ।

नार्कका कार्यकारी निर्देशक डा.ध्रुवराज भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा नार्कको आगामी कार्यक्रम एवं चुनौतिका बिषयमा समेत छलफल भएको थियो । कार्यकारी निर्देशक भट्टराईले नार्कले गत आ.व. को चौथो त्रैमासिक तथा वार्षिक प्रगतिमा प्रस्तुति सहित नार्कमा हालसालै सुरु गरिएका सुधारका प्रयासहरु र नार्कको आगामी कार्यदिशाको ’boutमा समेत जानकारी गराए ।

कार्यक्रममा कृषि मन्त्रालयका योजना तथा विकास सहायता समन्वय महाशाखाका सहसचिव डा. राजेन्द्र मिश्र, मन्त्रालयकै प्रशासन महाशाखाका सहसचिव मदन भुजेल, कृषि विभागका महानिर्देशक डा.हरिबहादुर केसी लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा नार्कका योजना तथा समन्वय निर्देशक डा. लुमानिधि पाण्डेले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा.कालिकाप्रसाद उपाध्यायले गरेका थिए । यसअघि नै बिभिन्न प्रदेशको चौथो त्रैमासिक तथा बार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस