ऊर्जा सङ्ग्रहालय बन्दै नेपालको पहिलो ‘फर्पिङ जलविद्युत केन्द्र’

सफल खबर संवाददाता

मंगलबार, १६ साउन २०८०, १३ : ३७
ऊर्जा सङ्ग्रहालय बन्दै नेपालको पहिलो ‘फर्पिङ जलविद्युत केन्द्र’

काठमाडौँ । नेपालको पहिलो र एसियाकै दोस्रो जलविद्युत आयोजनाका रूपमा बनेको फर्पिङ जलविद्युत केन्द्र ऊर्जा सङ्ग्रहालय बन्ने भएको छ । पाँच सय किलोवाट जडित क्षमताको फर्पिङ जलविद्युत केन्द्रलाई ऊर्जा सङ्ग्रहालयको रूपमा विकास गरिने भएको हो । एसियामा फर्पिङ अघि भारतको दार्जिलिङमा सन् १८९७ मा १३० किलोवाट क्षमताको आयोजना बनेको थियो ।

नेपाल विद्युत् प्राधिकरणले केन्द्रलाई जलविद्युत सङ्ग्रहालय र पर्यटकीय स्थलका रूपमा विकास गर्न एनईए इन्जिनियरिङ कम्पनी परामर्शदाताका रूपमा नियुक्त भएको छ । ऐतिहासिक जलविद्युत केन्द्रलाई पर्यटनसँग जोडेर पुराना संरचनाहरूको जीर्णोद्धार र खाली रहेको जग्गामा नयाँ संरचनाहरू निर्माण गरिने विद्युत् प्राधिकरणले जनाएको छ ।

काठमाडौँको दक्षिणकाली नगरपालिकास्थित केन्द्रको जलाशय र विद्युत् गृह क्षेत्रमा रहेको जग्गामा हरियाली पार्क, रेस्टुरेन्ट, पसल, जिप लाइन, पिकनिक स्पट, पुस्तकालय, वाल उद्यानलगायतका संरचनाहरू निर्माण गरिने छन् । जलविद्युत केन्द्रका संरचनाहरूलाई जीर्णोद्धार गरी सङ्ग्रहालयको रूपमा विकास गरिने छ ।

परामर्शदाताले तयार पारेको गुरुयोजना कार्यान्वयनका लागि करिब एक अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । केन्द्रको स्वामित्वमा  तीन सय २४ रोपनी जग्गा छ । पर्यटकीय संरचनाहरू निर्माणका लागि जलाशय क्षेत्रको ४६ रोपनी र विद्युत् गृह क्षेत्रको करिब १ सय ४६ रोपनी जग्गा प्रयोग गरिने छ ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले परामर्शदाताको प्रतिवेदन आएपछि केन्द्रलाई ऊर्जा सङ्ग्रहालय, अनुसन्धान केन्द्र र पर्यटकीय स्थलको रूपमा विकासका कार्यहरु अगाडि बढाइने बताए । फर्पिङ जलविद्युत केन्द्र सन् १९६८ जेठ ९ गतबाट औपचारिक रूपमा सञ्चालनमा आएको थियो । तत्कालीन राजा पृथ्वीवीरविक्रम शाहबाट टुँडिखेलमा बत्ती बालेर उद्घाटन भएको उक्त जलविद्युत् केन्द्रबाट राजपरिवार, राणापरिवारलगायत विद्युत् वितरण गरिएको थियो ।

राणा प्रधानमन्त्री चन्द्रशमशेरको शासनकालमा निर्माण भएकाले केन्द्रको नाम चन्द्रज्योति राखिएको थियो । करिब चार वर्ष लगाएर निर्माण गरिएको आयोजनाको लागत ७ लाख १३ हजार रुपैयाँ थियो । केन्द्र २०३८ सालसम्म निरन्तर सञ्चालनमा थियो ।

तर त्यसपछि ललितपुरका विभिन्न क्षेत्रमा खानेपानी आपूर्तिका लागि जलाशयको पानी, टर्बाइनमा प्रवेश नगराई प्रयोग गर्न थालेपछि विद्युत् गृहको सञ्चालन बन्द भएको थियो। केन्द्रको मर्मत सम्भार गरी पुनः २०६३ साल पुसबाट आवश्यक पर्दा सञ्चालन गर्न सकिने गरी चालू हालतमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस