सन्तुलित भोजनले ५० प्रतिशत रोगबाट बचाउँछ

सफल खबर संवाददाता

शनिबार, १३ साउन २०८०, १२ : २७
सन्तुलित भोजनले ५० प्रतिशत रोगबाट बचाउँछ

काठमाडौँ। नेपालमा खान नपाएर धेरै नागरिक कुपोषित छन् । साथै खाना खान नजानेर पनि कुपोषित भई विभिन्न रोगका सिकार बन्ने गरेको पोषणविद्हरू बताउँछन् ।

यस्तै खान नपाएर र भएको खानलाई मिलाएर खान नजानेर मृत्युको मुखमा पुग्ने गरेको परिवार कल्याण महाशाखा अन्तर्गत पोषण शाखाका पूर्वप्रमुख केदार पराजुली बताउँछन् । शारीरिक र मानसिक रूपमा स्वस्थ रहन ताजा र स्वस्थ आहार आवश्यक पर्छ । गर्मी मौसममा शरीरलाई स्वस्थ राख्न पनि सफा र सन्तुलित आहार आवश्यक पर्ने पूर्वप्रमुख पराजुलीको भनाइ छ ।

 

बर्खायाममा खानपानमा कसरी ध्यान दिने ?

जाडो होस् वा गर्मी सन्तुलित भोजन र सरसफाइमा विशेष ख्याल गर्नु पर्छ । खानामा सबै तत्त्वहरू पर्याप्त मात्रामा उपलब्ध हुनु पर्छ । यस याममा पसिना र पिसाबका माध्यमबाट पानीजन्य पदार्थ बढी जाने गर्छ । गर्मी मौसममा शरीरमा बाहिरी तापक्रम बढी हुने भएकाले खाने कुरा र पिउने पानीमा विशेष ध्यान दिनु पर्छ । 

पानीको प्रयोग 

बर्खाको समयमा पानी धेरै पर्ने भएकाले पानीका मुहान सफा नहुन सक्छन् । त्यस्ता मुहानबाट हाम्रा धारामा आउने र बजारमा जारमा पाइने पिउने पानी सफा र शुद्ध नहुन सक्छन् । त्यसैले बर्खा याममा पिउने र सरसफाइमा प्रयोग गर्ने पानीको शुद्धतामा ध्यान पुर्याउनु पर्छ । पराजुलीका अनुसार पानी उमालेर मात्र पिउनु पर्छ । क्लोरिन राखेर शुद्ध बनाइएको पानीले मात्रै नुहाउन, भाँडा माझ्न सुझाव दिन्छन् पराजुली । ज्यादै गर्मी हुँदा पानीको सट्टामा चिसो भनेर फ्यान्टालगायत कोल्डड्रिक्ङ्स पिउँदा स्वास्थ्यमा उल्टै असर पर्ने उनले बताए । कोल्डड्रिङ्क्स सट्टामा सादा, शुद्ध, फिल्टर गरी उमालेको पानीलाई चिसो वा हल्का तातो बनाएर पुदिना, कागती राखेर प्रशस्त मात्रामा पिउन उनको सुझाव छ । 

यसैगरी सुक्खा र सफा भाँडा पखालेर खाना पस्किने चलन धेरैको छ । यसरी भाँडा पखाल्नु नहुने पराजुलीको धारणा छ । उनी भन्छन्, ‘धोएर सुक्खा बनाएर राखिएका थाल, बोटुकालगायत भाँडा हामी पुनः पखाल्ने गर्छौं । यसरी पखाल्दा शुद्ध भाँडा झन् फोहोर हुन पुग्छन् । किनभने बर्खाको समयमा धाराको पानी शुद्ध छ भन्ने ग्यारेन्टी हुँदैन । त्यसैले धोएर राखिएको सुक्खा भाँडा फेरि सफा नगरौँ ।’ 

खानपानको सुरक्षा

गर्मीको समयमा बासी खाना खानु हुँदैन । गर्मीमा झिँगा बढी फैलिन्छन् । त्यसैले पकाएको खाना केही समयपछि खाने भए पनि छोपेर राख्न पराजुली सुझाव दिन्छन् । खाना खुला राख्दा झिँगा, फ्ट्याङ्ग्रा, कीराहरूले फोहोर गरिदिने भएकाले छोपेर राख्नु पर्छ । त्यसैगरी पकाएर लामो समयसम्म राख्नु हुँदैन, तुरुन्तै खानुपर्छ । तत्काल खान फुर्सद नभए छोपेर फ्रिजमा राख्नु पर्छ । अनि आफूलाई अनुकूल भएपछि तापक्रम मेन्टेन गरी खान सकिने उनको भनाइ छ । उनले भने, ‘फ्रिजमा राखेको खाने कुरा पुनः नताएर खानु पर्छ । खानालाई लामो समयसम्म राखेर त्यतिकै खान हुँदैन ।’

 फलफूल तथा तरकारी

हामीले नियमित रूपमा खाने साग, तरकारी, फलफूलमा अत्यधिक मात्रा कीटनाशक औषधी प्रयोग भइरहेको समाचार प्रशस्त सुनका छौँ । यस्ता तरकारी तथा फलफूल राज्यले अनुगमन गरी कीटनाशक औषधीरहित भनेर जनतालाई सुसूचित गरी उपभोगको व्यवस्था मिलाइदिनुपर्ने उनको भनाइ छ । ‘फलफूल तथा तरकारी बजारमा आउनुभन्दा अगाडि कीटनाशक औषधी मात्रा छ वा छैन, कीटनाशक औषधी फलफूल तरकारीमा खानेयोग्य स्तारसम्मको छ छैन जनताले थाहा पाउनुपर्छ,’ पराजुलीले भने ।

विशेषगरी सहरी क्षेत्रमा विषादीयुक्त तरकारी र फलफूल खान बाध्य  भएकाले क्यान्सर, मिर्गौला लगायत अन्य स्वास्थ्य समस्या उत्पन्न भएको पनि उनले जानकारी दिए ।

सागमा फाइबरको मात्रा बढी हुन्छ । यसले खाना पचाउन सहयोग गर्छ । सागसब्जी पकाउनुभन्दा अघि भिजाएर राखेर पकाउनु पर्छ । विषादीबाट जोगिने मुख्य उपाय भनेको तरकारी फलफूल किनेर ल्याउनेबित्तिकै नखान उनको सुझाव छ । फलफूलको बाहिरी भागमा किटनाशक औषधी राखिएको भए तत्काल खानु हुँदैन । त्यस्ता फलफूल खानुभन्दा २४ घण्टा अगाडि कागती पानीमा डुबाएर पखालेर खान पनि उनको आग्रह छ । 

फलफूलको बाहिरी तहमा भएको कीटनाशक औषधीलाई २४ घण्टासम्म पानी डुबाउँदा केही मात्रा हट्ने उनले बताए । यद्यपि बाहिरी सतहमा भएको कीटनाशक औषधि पानी भिजाउँदा हटे पनि  भित्री भागमा बाँकी रहने सम्भावना भएकाले केही समय राखेर उपभोग गर्नु राम्रो हुने उनी बताउँछन् । 

फलफूलमा झन्डै ९० प्रतिशत पानीको मात्रा हुन्छ । त्यसैले सकेसम्म बढी मात्रामा फलफूलको उभोग गर्दा स्वास्थ्यका लागि फाइदा हुने उनले बताए । सिजन अनुसारका फलफूलमा पोषकतत्त्व बढी पाइन्छ । गर्मी याममा आँप, लिची लगायतका फलफुल पाइन्छन्, यस्ता मौसामी फल खाँदा बढी गर्मी हुन्छ भन्नु भ्रम मात्र हो ।

दिवा खाजा  

बर्खाको समयमा विशेषगरी पानीजन्य रोगले सताउँछ । विद्यालयमा बच्चालाई दिवा खाजा खुवाउने व्यवस्था गरिएको हुन्छ, त्यस्ता ठाउँमा सरसफाइमा विशेष ख्याल गर्नुपर्छ । विद्यालयको चेमेनागृहमा खाजा बनाउने भान्सेको सरसफाइ, पिउने पानी र प्रयोग गर्ने पानीमा शुद्धता सावधानी अपनाउन उनको सुझाव छ । 

उनी भन्नछन्, ‘त्यहाँ खाना अस्वस्थकर भएमा धेरै बालबालिका प्रभावित हुन्छन् । उनीहरूलाई विभिन्न सरुवा रोगका भाइरस, फङ्गस, ब्याक्टेरियाले चाँडो सङ्क्रमण गर्ने भएकाले सतर्कता अपनाउनु पर्छ ।’स्कुल र दिवा खाजा बनाउने भान्सेको व्यक्तिगत्त सरसफाइ, साना नानीबाबुलाई खान दिने भाँडाको सरसफाइ र स्वस्थकर खाजामा स्कुलले ध्यान दिन आवश्यक पर्ने उनले बताए । 

५० प्रतिशत रोगबाट जोगिइन्छ

खानपानमा मात्रै ध्यान दिइयो भने ५० प्रतिशत नसर्ने रोगहरूबाट जोगिन सकिने पूर्वप्रमुख पराजुलीले बताए ।नेपालमा खाना अर्थात् सन्तुलित आहारले उपचार हुन्छ भन्ने कुरालाई सम्बन्धित निकायले जनमानसमा जानकारी दिन नसकिएको उनको भनाइ छ । उनले भने, ‘रोग लाग्नासाथ हामी डाक्टर भेट्न जान्छौँ । डाक्टरले औषधि लेखिदिने वा अप्रेसन गर्ने लगायतका विधि अपनाउँछन् । तर खानाबाट पनि उपचार सम्भव छ भन्नेतिर कसैको ध्यान गएको छैन ।’

खानपानबाटै बिरामी हुनबाट जोगिन्छ भन्ने कुराको ज्ञान, अभ्यस कम भएको पूर्वप्रमुख पराजुलीले बताए । मेडिकल सेवा दिनेहरूले समेत खानातर्फभन्दा औषधीतर्फ बढी ध्यान दिइएको उनले बताए । 

प्रतिक्रिया दिनुहोस