राप्रपा नेपाल जनसंघर्ष र जनआन्दोलनको बाटोबाट अघि बढ्छ : कमल थापा

सफल खबर संवाददाता

शुक्रबार, १२ साउन २०८०, २० : ३४
राप्रपा नेपाल जनसंघर्ष र जनआन्दोलनको बाटोबाट अघि बढ्छ : कमल थापा

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीको भावी रणनीति जनदबाब , जनसंघर्ष र जनआन्दोलन भएको बताएका छन् । शुक्रबार जिल्ला समिति काठमाडौँद्वारा आयोजित अगुवा कार्यकर्ता प्रशिक्षणमा बोल्दै थापाले संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट व्यवस्थाको अन्त्य नभई देशले भोग्नु परिरहेको विद्यमान समस्याको समाधान ननिस्कने समेत दाबी गरे । 

उनले राष्ट्र निर्माणको फरक विचार र बाटो तय गर्दै वैकल्पिक शक्तिको रूपमा राप्रपा नेपाललाई स्थापित गर्ने दृढता समेत व्यक्त गरे । संकटग्रस्त अर्थतन्त्र, भ्रष्टाचारको महारोग, धर्मपरिवर्तनको डढेलो, लोकतन्त्रको नाममा व्याप्त सर्वसत्तावाद र बाह्य शक्तिको तिव्र चलखेलबाट मुलुक आक्रान्त भएको भन्दै थापाले सडक संघर्षमा आउने सबै राष्ट्रवादी प्रजातान्त्रिक शक्तिहरुसँग एकता र सहकार्य हुनसक्ने बताए । 

प्रशिक्षणमा वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले जनताको विश्वास जितेर राप्रपा नेपाल एउटा भरपर्दो वैकल्पिक शक्ति बन्न सक्ने सम्भावना रहेकोले सबैलाई समेटेर जनताको माझ जान आग्रह गरे । 

कार्यक्रममा राप्रपा नेपाल महामन्त्री राजाराम बर्तौला, सहमहामन्त्री तथा राष्ट्रिय खेलकुद संगठनका अध्यक्ष दमन बस्नेतले संगठन र खेलकुद सम्बन्धी धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस