पुरस्कार दिने व्यस्थाले सुन समातियो : अर्थमन्त्री महत

सफल खबर संवाददाता

सोमबार, ०८ साउन २०८०, १५ : ०३
पुरस्कार दिने व्यस्थाले सुन समातियो : अर्थमन्त्री महत

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आर्थिक वर्षका लागि राष्ट्र बैंकले ल्याएको नयाँ मौद्रिक नीतिले अर्थतन्त्र चलायमान हुने आशय व्यक्त गरेका छन् । सोमबार प्रेस युनियन रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले नयाँ मौद्रिक नीतिले लगानीको वातावरण सहज बनाउने बताएका हुन्। उनले आईतवार सार्वजनिक मौद्रिक नीतिमा आफूले भन्दै आएको ब्याजदरमा खुकुलो पनलाई सम्बोधन गरिएको बताए ।

अर्थमन्त्री डा. महतले अब निजी क्षेत्रमा लगानी सहज हुने, ब्याजदर घट्दै जाने बताए । उनले वित्त नीति र मौद्रिक नीतिको एउटै लक्ष्य आर्थिक वृद्धि सुनश्चित गर्ने, मूल्यलाई एउटा तहमा राख्ने भएको पनि बताए । उनले अहिले समग्रमा हेर्दा मूल्यवृद्धि कम भएको दाबीसमेत गरे । उनले सकरार विसंगतिलाई चिर्दै समस्याको समाधान खोजेर अघि बढिरहेको बताए ।

अर्थमन्त्री महतले सय किलो सुन आफूले आर्थिक वर्ष २०८०/०८१ मा ल्याएको सूचना दिनेलाई पुरस्कारको व्यवस्थाका कारण पक्राउ परेको दाबी गरे । उनले सुन प्रकरणमा अहिले अनुसन्धान भइरहेको र गैरकानूनी काम गर्ने जो कोहीलाई पनि कारबाही हुने बताए ।

‘जुन सुन समातियो त्यसको मुख्य कारण सुराकीको सूचना दिनेलाई पुरस्कारको व्यवस्था गरेका कारणले भएको हो । सूचना दिनेलाई पुस्कार दिने व्यवस्था गर्न मैले बजेटमा व्यवस्था गरेको थिएँ,’ अर्थमन्त्री महतले भने, ‘सूचना हुनेलाई पुरस्कारका कारण प्रोत्साहन मिलेको हुनुपर्छ ।’

उनले सुन तस्करी प्रकरणमा भइरहेको अनुसन्धानलाई सघाउने पनि बताए ।राजस्वको अनुसन्धानलाई सघाउन संलग्न कर्मचारीलाई निलम्बन गरिएको र भन्सार विभागले पनि छानबिन गरिरहेको अर्थमन्त्री महतको भनाइ छ ।

उनले भन्सारमा प्रविधिको अपडेट र आधुनिक मेसिन जडान गर्नुपर्ने आवश्यकता रहेको बताए। भन्सारमा हुने अनियमिततालाई निस्तेज पार्नुपर्ने आवश्यकता रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस