सर्वोच्चको नयाँ नजिर

लाइसेन्स नभए पनि दुई पाङ्ग्रे सवारी चालकले गराएको दुर्घटना लापरवाही नहुँने

सफल खबर संवाददाता

सोमबार, ०८ साउन २०८०, १४ : ४१
लाइसेन्स नभए पनि दुई पाङ्ग्रे सवारी चालकले गराएको दुर्घटना लापरवाही नहुँने

काठमाडौं । सर्वोच्च अदालतले दुई पाङ्ग्रे सवारी चालकले गराएको दुर्घटनालाई लापरबाही मान्न नसकिने नजिर स्थापित गरेको छ । सर्वोच्चका ५ जना न्यायाधीश सम्मेलित पूर्ण इजलासले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नभएका दुई पाङ्ग्रे सवारी चालकले गराएको दुर्घटनाबारे नयाँ नजिर स्थापना गरेको हो ।

जसमा दुई पाङ्ग्रेका चालकले लाइसेन्स नभए पनि सावधानीपूर्वक चलाउनु ठूलो अपराध नहुने र सवारी चलाएर दुर्घटना भए त्यसलाई ‘लापरबाही’ मान्न नसकिने सर्वोच्चद्धारा सार्वजनिक पूर्णपाठमा उल्लेख छ ।

न्यायाधीशहरु विश्वभरप्रसाद श्रेष्ठ, प्रकाशमान सिंह राउत, सुष्मालता माथेमा, कुमार रेग्मी र मनोजकुमार शर्माको इजलासले चार पाङग्रे सवारी साधनको हकमा लाइसेन्स नभए लापरबाही, हुने तर मोटरसाइल, स्कुटरजस्ता (दुई पाङ्ग्रे) साधनमा अवस्था हेरेर मात्र निर्णय गर्नुपर्ने व्याख्या गरेको हो ।

लाइसेन्स नभएको विवादससम्बन्धी एक मुद्दाको फैसलामा सर्वोच्चले दुई पाङ्ग्रे सवारी चालकले कुन अवस्थामा सवारी चलाएको हो, चालकको गल्ती थियो कि थिएन जस्ता विविध पक्षमा पनि विचार पु¥याउनुपर्ने भनेर व्याख्या गरेको छ ।

२०६९ पुसमा नुवाकोटका दीपक तामाङले लाइसेन्स नभएको अवस्थामा सवारी चलाउँदा १ जना यात्रुको मृत्यु भएको थियो । त्यसपछि उनको मुद्दामा विवाद भएपछि जिल्ला, उच्च हुँदै सर्वोच्च पुगेको थियो ।

उक्त विवादको पूर्णपाठ सार्वजनिक भएसँगै अब सवारी कसुरमा दुई पाङग्रे सवारी चालकको हकमा लापरबाहीको सजाय अवस्था हेरेर मात्र हुने भएको छ । यातायात व्यवस्था ऐनको दफा १६१ (२) को कानूनी व्यवस्था बमोजिम मानिस मर्न सक्छ भन्ने ठूलो सम्भावना रहेको कुरा जानिजानी वा लापरबाही गरी सवारी चलाएकोमा सवारी दुर्घटना भइ ज्यान मरेको भएमा सो व्यवस्था आकर्षित हुने सर्वोच्चको पूर्णपाठमा उल्लेख छ ।

‘ऐनको दफा १६१(२) अनुसारको कसुर स्थापित हुन सवारी चालकले कसैको ज्यान मर्न सक्छ भन्ने अवस्था देख्दादेख्दै पनि अपनाउनुपर्ने सतर्कता नअपनाइ लापरबाही र हेलचेक्र्याइँपूर्ण तरिकाले सवारी चलाएको हुनुपर्दछ,’ फैसलाको पूर्णपाठमा भनिएको छ, ‘यसमा चालकलाई आफूले चलाएको सवारी साधन दुर्घटना भए मानिस मर्न सक्छ भन्ने पूर्व आभास भएको हुन सक्छ र त्यस्तो आभास हुँदाहुँदै जोखिम उठाइ सवारी चलाएको कारणले दुर्घटना गराइ सोही कारणले मानिस मृत्यु भएको हुन्छ ।’

ऐनको उक्त व्यवस्था कार्यान्वयन हुनसक्ने अवस्थाबारे सर्वोच्चले फैसलामा थप भनेको छ, ‘यस अवस्थामा प्रतिवादीलाई मैले यसरी चलाएको सवारीबाट कुनै बेला दुर्घटना हुन सक्छ भन्ने परिणामको सम्भावनाको पूर्व आकलन एवम् ज्ञान हुने भए परिणाम दुर्घटना नै हुन सक्छ भन्ने निश्चितता हुँदैन । तर चालकको लापरबाहीले दुर्घटना हुन सक्ने सम्भावनाको अवस्था भने रहेको हुन्छ ।’

यस्तै, ऐनको दफा १६१(३) मा ‘कसैको ज्यान मर्न सक्छ भन्ने जस्तो नदेखिएको अवस्थामा कसैले कुनै सवारी चलाउँदा सवारी दुर्घटना हुन गई सवारीमा रहेको वा सवारी बाहिर जुनसुकै ठाउँमा रहे बसेको कुनै मानिसको मृत्यु हुन गएको रहेछ भने त्यसरी सवारी चलाउने व्यक्तिलाई १ वर्षसम्म कैद वा २ हजार रूपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ’ भन्ने व्यवस्था रहेको भन्दै सर्वोच्चले यो व्यवस्थाले कसैको ज्यान मर्न सक्छ भन्ने जस्तो नदेखिएको र सामान्य अवस्थामा सावधानीपूर्वक सवारी चलाउँदा भएको दुर्घटनालाई समेटेको फैसलामा उल्लेख गरेको छ ।

ऐनको दफा १६१(१), १६१(२) र १६१(३) को कानूनी व्यवस्था सवारी दुर्घटना भइ मानिसको मृत्यु हुन गएको अवस्थामा आकर्षित हुने देखिएको, तर उक्त कानुनअनुसारको कसुरमा फरक–फरक परिस्थिति र कसुरको प्रकृति चित्रण गरिएको फैसलामा उल्लेख छ ।

चालक अनुमतिपत्र नभएका व्यक्तिलाई सवारी धनीले सवारी चलाउन दिन हुँदैन, दिएमा दुर्घटना भई मानिसको मृत्यु हुन गएमा त्यस्ता सवारी धनीलाई २ वर्षसम्म कैद हुने कानुनी व्यवस्था रहेको फैसलामा उल्लेख छ।

सवारी साधन चलाउनेको सतर्कता भिन्न भिन्न मापदण्डमा हुनुपर्ने भनी व्याख्या भएको कुरालाई हेक्का राख्नु पर्ने फैसलामा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस