गण्डकीमा किसानलाई आवश्यक रासायनिक मल मौज्दात

सफल खबर संवाददाता

विहीबार, २८ असार २०८०, ०९ : २१
गण्डकीमा किसानलाई आवश्यक रासायनिक मल मौज्दात

पोखरा । गण्डकी प्रदेशमा किसानलाई आवश्यक रासायनिक मल मौज्दात रहेको छ ।

बर्सेनि धानखेतीको समयमा रासायनिक मलको अभाव झेल्दै आएका गण्डकी प्रदेशका किसानलाई कृषि सामग्री कम्पनी लिमिटेड पोखराले मल अभाव नहुने जानकारी दिएको हो । 

कृषि सामग्री कम्पनी लिमिटेड गण्डकी प्रदेश प्रादेशिक कार्यालय पोखराका प्रमुख ठाकुरप्रसाद बास्तोलाका अनुसार हाल कम्पनीमा डीएपी २१ टन र युरिया ५ टन गोदाममा छ । थप मल आउने क्रममा रहेकाले यस वर्ष धानखेतीको समयमा रासायनिक मल अभाव नहुने उनले जानकारी दिए ।

यस वर्ष हालसम्म मलको अभाव नरहेको राष्ट्रिय कृषक समूह महासंघ नेपालका केन्द्रीय उपाध्यक्ष चित्रनाथ सापकोटाले जानकारी दिए । धान लगाउने समयमो छिटपुट रूपमा पोटासको अभाव देखिए पनि युरिया र डीएपीको अभाव नरहेको उपाध्यक्ष सापकोटाको भनाइ थियो ।

‘तत्काललाई मलको समस्या देखिएको छैन । अब युरिया मल आवश्यक पर्ने समय आउँदैछ,’ उपाध्यक्ष सापकोटाले भने, ‘युरिया स्टकमा छैन भनेको सुनेको छु तर आधिकारिक सूचना आएको छैन । अहिलेसम्मलाई समस्या छैन ।’

गण्डकी प्रदेशमा १ वर्षमा ५ हजार टन युरिया, ३ हजार टन डीएपी र ५०० टन पोटास आवश्यक पर्ने कृषि सामग्री कम्पनी लिमिटेड पोखराका प्रमुख ठाकुरप्रसाद बास्तोलाले जानकारी दिए । यीमध्ये कास्कीमा १ हजार टन, डीएपी ५०० टन र पोटास ५० टन आवश्यक रहेको उनले बताए । चालू आर्थिक वर्षको अन्त्यसम्ममा कास्कीका लागि आवश्यकमध्ये युरिया ६०० टन, डीएपी ३०० टन र पोटास २१ टन आइसकेको छ । सोही आधारमा अन्य जिल्लाका लागि पनि रासायनिक मल आइसकेको प्रमुख बास्तोलाले जानकारी दिए ।

अहिलेसम्म आएको मलले उपभोक्ताको चित्त बुझाइरहेको प्रमुख बास्तोलाले बताए । उनले भने, ‘सहकारी संस्था र कृषि सामग्री बिक्रेताको माग त ठूलो छ । उहाँहरूको मागअनुुसार त पुर्‍याउन सकेको छैन तर चित्त बुझाएको छु ।’

मल अभाव हुन नदिनका लागि नातावाद र पहँुचका आधारमा नबाढी दामासाही ढंगले सहकारी संस्था र कृषि सामग्री बिक्रेतालाई दिएको उनले सुनाए ।

गण्डकीमा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट टे«डिङले मल बिक्री गर्दै आएका छन् । जसमा कृषि सामग्रीले ७० र साल्ट ट्रडिङले ३० प्रतिशत मल बिक्री गर्दै आएको छ । कृषि सामग्री कम्पनी लिमिटेडले प्रदेशका ११ वटै जिल्लामा मल बिक्री गर्दै आएको लिमिटेडका सूचना अधिकारी गोपालजङ्ग गुरुङले जानकारी दिए । गण्डकी प्रदेशमा सबैभन्दा बढी नवलपुर र त्यसपछि स्याङ्जा, तनहुँ, कास्कीलगायत जिल्लामा मल खपत हुने गरेको सूचना अधिकारी गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस