जनसङ्ख्या वृद्धिदरमा रुपन्देही नेपालकै दोस्रो ठूलो जिल्ला

सफल खबर संवाददाता

विहीबार, २१ असार २०८०, ०८ : ४७
जनसङ्ख्या वृद्धिदरमा रुपन्देही नेपालकै दोस्रो ठूलो जिल्ला

काठमाडौ । जनसङ्ख्या वृद्धिदरको दृष्टिले रुपन्देही जिल्ला नेपालकै दोस्रो ठूलो जिल्लामा रहेको छ। सबैभन्दा बढी भक्तपुर जिल्लामा जनसङ्ख्या वृद्धिदर रहेको र त्यसपछि क्रमशः रुपन्देही, चितवन, बाँके र झापा रहेका छन् ।

तथ्यांक कार्यालय कपिलवस्तुले बुधबार भैरहवामा रुपन्देही जिल्लाको नतिजा सार्वजानिक गर्दै रुपन्देहीमा दुई दशमलव ३३ प्रतिशतले जनसङ्ख्या वृद्धि भएको जानकारी दिएको छ।

तथ्याङ्क कार्यालयका प्रमुख नन्दलाल कुर्मीका अनुसार सबैभन्दा बढी भक्तपुर जिल्लामा तीन दशमलव ३५ प्रतिशत वार्षिक जनसङ्ख्या वृद्धिदर रहेको छ।

भक्तपुरमा २०६८ सालमा जनसङ्ख्या तीन लाख चार हजार छ सय ५१ रहेकोमा २०७८ मा चार लाख ३२ हजार एक सय ३२ पुगेको ।

रुपन्देही जिल्लामा २०६८ सालमा जनसङ्ख्या आठ लाख ८० हजार एक सय ९६ जना रहेकोमा २०७८ सालमा ११ लाख २१ हजार नौ सय ५७ पुगेको छ।

विसं २०७८ को जनगणनाअनुसार रुपन्देही जिल्लाको दश वर्षको सरदर वार्षिक जनसङ्ख्या वृद्धिदर दुई दशमलव ३३ प्रतिशत देखिन्छ। विसं २०५८ देखि २०६८ सम्मको दश वर्षमा सरदर वार्षिक जनसङ्ख्या वृद्धिदर दुई दशमलव १७ प्रतिशत रहेको थियो।

स्थानीय तहअनुसार सबैभन्दा बढी जनसङ्ख्या बुटवल उपमहानगर पालिकामा एक लाख ९४ हजार तीन सय ३५ (१७ दशमलव तीन प्रतिशत) र सबैभन्दा कम जनसङ्ख्या मर्चवारी गाउँपालिकामा ४० हजार आठ सय ८० (तीन दशमलव छ प्रतिशत) रहेको छ।

यस्तै, प्रतिवर्गकिलोमिटर जनघनत्व सबैभन्दा धेरै सिद्धार्थनगर नगर पालिकामा दुई हजार ६६ जना रहेको छ भने सबैभन्दा कम सैनामैना नगरपालिकामा चार सय ८३ जना रहेको छ।

गत दश वर्षको अवधिमा सबैभन्दा धेरै तिलोत्तमा नगरपालिकामा ४९ दशमलव २६ प्रतिशतले र सबैभन्दा कम मर्चवारी गाउँपालिकामा पाँच दशमलव ४३ प्रतिशतले जनसङ्ख्या थप भएको छ।

जनगणनाको नतिजाअनुसार रुपन्देही जिल्लामा जम्मा दुई लाख २७ हजार तीन सय ५१ घर संरचना रहेका छन्। यीमध्ये ८१ प्रतिशत आवासीय घर रहेका छन्।

रुपन्देहीमा चार दशमलव दुई प्रतिशत घर खाली रहेको तथ्यांकले देखाएको छ। जिल्लामा कूल दुई लाख ३८ हजार तीन सय २० परिवार रहेकोमा तीमध्ये ६६ दशमलव नौ प्रतिशत परिवारमूली पुरुष र बाँकी ३३ दशमलव एक प्रतिशत परिवारमूली महिला रहेको कुर्मीले बताए।

रुपन्देहीमा जनसङ्ख्याको पाँच वर्षको उमेर समूहअनुसार १५ देखि १९ वर्ष उमेर समूहमा कूल जनसङ्ख्याको सबैभन्दा बढी प्रतिशत (१० दशमलव छ प्रतिशत) रहेको छ।

प्रतिक्रिया दिनुहोस