मलाई सरकारमा जान नदिन निरन्तर प्रयास भईरहेको छ : केपी ओली

सफल खबर संवाददाता

सोमबार, १८ असार २०८०, १९ : ११
मलाई सरकारमा जान नदिन निरन्तर प्रयास भईरहेको छ : केपी ओली

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राम्रो काम गरेवापत आफूलाई सरकारमा जान नदिन निरन्तर प्रयास भईरहेको टिप्पणी गरेका छन।

‘देश समृद्धि होस्, जनता सुःखी रहून्’ भन्ने ध्येयका साथ काम गरिरहँदा पनि केही मानिसहरु आफूलाई सरकारमा पुग्न नदिनका लागि अनेक उपायको खोजीमा लाग्ने गरेको अध्यक्ष ओलीको भनाई छ ।

सोमबार भक्तपुरमा निर्माण गरिएको ‘छोरीको घर ज्येष्ठ नागरिक आश्रम’को उद्घाटन गर्दै उहाँले आफू भने कुनै प्रतिफलको आशा नगरी देश र जनताको समृद्धिको काममा लागिपर्ने बताए ।

अध्यक्ष ओलीले आफू सरकारमा नभएपनि देश र जनताका लागि केही न केही काम गरिरहेको दाबी समेत गरे । उनले आफू सरकारमा सहभागी भएको बेला सुरु गरिएको ज्येष्ठ नागरिक भत्ता ४ हजार पुर्‍याउनेलगायतका थुप्रै काम आफूले गरेको तर त्यसको जस आफूलाई नै दिनुपर्छ भन्ने मान्यता नलिएको पनि पटकपटक दोहोर्‍याए।

अध्यक्ष ओलीले देश र जनताको सेवा गरेवापत प्राप्त हुने सन्तुष्टि नै आफ्नो लागि सबै भन्दा ठूलो प्राप्ती हुने गरेको बताए। उनले आफूले नै सडक बालबालिकाको व्यवस्थापनको काम सुरु गरेको, दूर्गम ठाउँहरुको अन्त्य हुने गरी सडक सञ्जाल निर्माणको काम सुरु गरेको भएपनि त्यसको श्रय लिनुपर्छ भन्ने नलागेको बताए ।

अध्यक्ष ओलीले जनताको सेवा गरेर प्राप्त हुने सन्तुष्टिबाट नै आफूलाई सन्तुष्टि मिल्ने गरेको बताए । त्यस अवसरमा उनले ज्येष्ठ नागरिक आश्रमहरुलाई जातको आधारमा भेदभावपूर्ण व्यवहार नगर्न पनि सचेत गराएका थिए ।

प्रतिक्रिया दिनुहोस