सरकारले २० घण्टा बितिसक्दा पनि कर्णालीमा बेपत्ता नागरिकको उद्धार गर्न सकेन : शाही

सफल खबर संवाददाता

शुक्रबार, १९ असार २०८३, १२ : २९
सरकारले २० घण्टा बितिसक्दा पनि कर्णालीमा बेपत्ता नागरिकको उद्धार गर्न सकेन : शाही

काठमाडाैं । राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले कर्णालीमा गाडीसहित बेपत्ता भएका नागरिकको उद्धारमा सरकार गम्भीर नभएको आरोप लगाएका छन्।

उनले विपद् व्यवस्थापन तथा उद्धारका लागि हेलिकप्टर तयारी अवस्थामा राख्ने दाबी सरकारले संसदमा गरे पनि कर्णालीमा भएको घटनामा झण्डै २० घण्टा बितिसक्दा समेत उद्धारका लागि हेलिकप्टर परिचालन गर्न नसकेको बताएका हुन्।

सामाजिक सञ्जालमार्फत शाहीले लेखेका छन्, “विपत् व्यवस्थापन र उद्धारका लागि हेलिकप्टर राख्छु भनेर संसदमा ठूला–ठूला गफ गर्ने सरकार, कर्णालीमा गाडीसहित बेपत्ता भएका नागरिकको उद्धारमा भने झण्डै २० घण्टा बितिसक्दा पनि हेलिकप्टर पठाउन सकेको छैन।”

शाहीले संकटका बेला नागरिकको ज्यानभन्दा ठूलो कुनै प्राथमिकता नहुने उल्लेख गर्दै पीडित परिवार आफ्ना आफन्तको सकुशल उद्धारको आशामा रातभर जागा बस्न बाध्य भएको, तर अझै राज्यको उपस्थितिको अनुभूति हुन नसकेको टिप्पणी गरेका छन्।

प्रतिक्रिया दिनुहोस