काठमाडौँ । प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानाले नेपाल भ्रमणमा रहेको चीनको तिब्बत स्वायत्त क्षेत्रको संसदीय प्रतिनिधि मण्डलसँग शिष्टाचार भेटवार्ता गरेकी छन् । चीनको तिब्बत स्वायत्त क्षेत्र जनकांग्रेसका स्थायी समिति उपनिर्देशक तथा जनकांग्रेसको कृषि, ग्रामीण मामिला र वातावरणीय स्रोत समितिका अध्यक्ष जियाङ बाईको नेतृत्वमा आएको चिनियाँ संसदीय प्रतिनिधि मण्डलसँग उपसभामुख रानाले मंगलबार सिंहदरबारमा भेटवार्ता गरेकी हुन् ।
भेटमा उपसभामुख रानाले नेपाल चीन सम्बन्ध निकै पुरानो र घनिष्ठ भएको चर्चा गर्दै दुई पक्षीय भेटवार्ता र भ्रमणले दुई देशको सम्बन्धलाई थप मजबुत बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताइन् ।त्यसक्रममा उनले नेपालको फलफूल, जडीबुटी लगायत कृषि उत्पादनहरु अर्गानिक र उत्कृष्ट हुने भन्दै नेपाली उत्पादनलाई चिनियाँ बजारसम्म बिस्तार गर्न सके दुवै देशलाई फाइदा हुने बताइन् ।
‘नेपालको हिमाली क्षेत्रमा उत्पादन हुने फलफूलहरु विशेष गरी ओखर निकै राम्रो र स्वादिलो हुन्छ,’ रानाले भनिन्, ‘नेपालमा उत्पादन हुने फलफूल, जडिबुटीहरु चिनियाँ बजारसम्म विस्तार गर्न सके चीनका नागरिकले हिमाली क्षेत्रको उत्पादनको स्वाद पाउनु हुन्थ्यो ।’
सो अवसरमा संसदीय प्रतिनिधि मण्डलको नेतृत्व गरेका तिब्बत स्वायत्त क्षेत्र जनकांग्रेसको कृषि, ग्रामीण मामिला र वातावरणीय स्रोत समितिका अध्यक्ष जियाङ बाईले नेपाल र चीनबीचको सम्बन्ध इतिहासदेखि नै निकै घनिष्ठ रहेको बताए । तिब्बत स्वायत्त क्षेत्रको प्रान्तीय टोलीको नेतृत्व गर्दै आफू पहिलोपटक नेपाल आएको उल्लेख गर्दै जियाङले तिब्बतले नेपालसँगको सम्बन्धलाई सधैं विशेष प्राथमिकता दिने बताए ।
‘चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणले नेपाल–चीन सम्बन्धको नयाँ अध्याय शुरु भएको छ,’ जियाङले भने, ‘नेपालको एक चीन नीतिप्रतिको प्रतिबद्धताको हामी प्रशंसा गर्छौं ।’भेटवार्तामा चिनियाँ प्रतिनिधि मण्डलका साथै नेपालका लागि चीनका राजदूत छन् सोङ पनि सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ असार २०८०, १६ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगामी निर्वाचन स्थायित्व र संवैधानिक यात्रालाई सबल बनाउने अवसर हो: उपसभामुख राना
संवैधानिक परिषद्मा कांग्रेसको प्रतिनिधित्व नभएपछि ममाथि राजनीतिक षड्यन्त्र गरियो: उपसभामुख राना
बाढी र पहिरोमा परेकाको उद्धारमा तीव्रता दिन उपसभामुख रानाको आग्रह
योगमायाको साहसिक नेतृत्व आज पनि उत्तिकै सान्दर्भिक : उपसभामुख राना
अपाङ्गता भएका बालबालिकाको अधिकार सुनिश्चित गर्नुपर्छ : उपसभामुख राना