भरतपुरकी मेयर रेनु दाहालद्वारा एकै दिन स्वास्थ्य चौकीसहित चार भवनको उद्घाटन

सफल खबर संवाददाता

मंगलबार, ३० जेठ २०८०, १५ : १०
भरतपुरकी मेयर रेनु दाहालद्वारा एकै दिन स्वास्थ्य चौकीसहित चार भवनको उद्घाटन

चितवन। भरतपुरकी मेयर रेनु दाहालले भरतपुर–२४ को ध्रुवमा आधारभूत स्वास्थ्य केन्द्रसहित चार भवनको उद्घाटन गरेकी छन् ।भरतपुर २४ का स्थानीयहरु प्राथामिक उपचार गर्न अन्यत्र जानुपर्ने बाध्यतालाई हटाउन उनले केन्द्रको उद्घाटन गरेकी हुन् ।

यसअघि स्थानीयहरु छिमेकी वडा शिवनगर तथा भरतपुर अस्पताल आउने पर्ने अवस्था थियो । यस केन्द्रलाई थप स्तरोन्ति गरी स्वास्थ्य सेवालाई बिस्तार गर्ने लक्ष्य लिइएको छ ।महानगरपालिका प्रमुख दाहालले संघीयताको मर्मानुसार जनताको घर–घरमा स्वास्थ्य सेवा उपलब्ध गराउने अभियान सञ्चालन गरिएको बताइन् ।

उनले भरतपुर–२४ लाई दिगो विकास गर्ने लक्ष्यसहित पूर्वाधार विकाससँगै सिँचाइ, कृषि फर्मलाई अनुदानमा यन्त्र उपकरण, पर्यटकीय स्थलको स्तरोन्ति, मेसजाली फाउण्डेसन, पशु चिकित्सालयलगायतका धेरै काम भएको उल्लेख गरिन् । महानगरभित्रको विपन्न समुदाय लक्षित वडाहरुमा पहिलो चरणमा २० वटा स्वास्थ्य केन्द्र स्थापना गरी सेवा सुरु गरेको जानकारी दिँदै उनले भरतपुरमा एक वडा एक अत्याधुनिक स्वास्थ्य केन्द्र पु¥याइने बताइन् ।

भरतपुर–२४ मा रहेका भूमिहिन सुकुमबासीलाई एक महिनाभित्र लालपुर्जा उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गरिन् । लालपुर्जा वितरण गर्ने काम तीब्ररुपमा अगाडि बढाइएको उनको भनाइ छ ।

यसै बीच भरतपुर–२४ कैछेथरलिङ बौद्ध गुम्बा संग्रहालय भवन, जनपथ क्लबको भवन र एकता सार्की समाजको भवनको पनि महानगर प्रमुख दाहालले आजै उद्घाटन गरिन् । कार्यक्रममा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले जनताको सानाभन्दा साना समस्या सम्बोधन गर्न महानगरपालिकाले नीति तथा कार्यक्रम ल्याएको उल्लेख गरे । कार्यक्रम भरतपुर महानगरपालिका वडा नम्बर २४ का वडा अध्यक्ष रामु गोदारको अध्यक्षतामा भएको थियो ।