काठमाडौँ । चालु आर्थिक वर्ष २०७९/८० को वैशाख मसान्त सम्ममा मूल्यवृद्धिले वाञ्छित सीमा नाघेको छ । सरकारले चालु आर्थिक वर्षका लागि मूल्यवृद्धि सात प्रतिशतको सीमाभित्र कायम गर्ने लक्ष्य राखेकामा १० महिना अवधिमा सात दशमलव ४१ प्रतिशत पुगेको हो ।
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति सात दशमलव ४१ प्रतिशत रहेको छ ।
राष्ट्र बैंकको तथ्याङ्क अनुसार यो अवधिमा शोधनान्तर स्थिति २ खर्ब १४ अर्ब ६७ करोडले बचतमा रहेको छ । त्यस्तै कूल विदेशी विनिमय सञ्चिति १४ खर्ब ७० अर्ब ३३ करोड बराबर छ । विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा ११ अर्ब २१ करोड बराबर हो ।
राष्ट्र बैंकका अनुसार १० महिना अवधिमा विस्तृत मुद्राप्रदाय ६ दशमलव ९ प्रतिशतले बढेको छ भने वार्षिक विन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १० प्रतिशतले बढेको छ । यो अवधिमा विप्रेषण आप्रवाह २३ दशमलव चार प्रतिशतले बढेर १० खर्ब पाँच अर्ब १८ करोड पुगेको छ ।
त्यस्तै आयात १६ दशमलव ८ प्रतिशतले, निर्यात २४ दशमलव ५ प्रतिशतले र कूल वस्तु व्यापार घाटा १५ दशमलव ९ प्रतिशतले घटेको छ । वैशाख मसान्तसम्ममा सङ्घीय सरकारको खर्च १० खर्ब ४७ अर्ब ७६ करोड र राजस्व परिचालन ७ खर्ब ५६ अर्ब २५ करोड रहेको छ ।
यो अवधिसम्ममा बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन ७ दशमलव ३ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा ३ दशमलव एक प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर ११ दशमलव ४ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ३ दशमलव ३ प्रतिशत रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ जेठ २०८०, १४ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल राष्ट्र बैंकले माग्यो कर्मचारी (सूचनासहित)
बैंकिङ प्रणालीबाट ६० अर्ब तरलता खिच्दै केन्द्रीय बैंक
नेपाल राष्ट्र बैंकले १०० रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्यायो
केन्द्रीय बैंकले उपदान कोषको तीन अर्ब ७० करोड लगानी गर्ने
बैंकिङ कारोबारका लागि आरटिजिएस प्रणाली खुला रहने
जग्गा विकाससँग सम्बन्धित कम्पनीले कर्जा पुनर्तालिकीकरण गर्न पाउने