काठमाडौ । नेकपा (एकीकृत समाजवादी)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा सन् १९५० को नेपाल–भारतका असमान सन्धि, सम्झौता पुनरावलोकन गर्न आग्रह गरेको छ ।
पार्टीका विदेश विभाग सचिव डा. शङ्कर खतिवडाका अनुसार कालापानी, लिपुलेक, लिम्पियाधुरालगायत सीमा क्षेत्रका विवादबारे कूटनीतिक माध्यमबाट समस्या समाधान गर्न माग गरिएको छ ।
यसबारेमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको भारत भ्रमणमा, द्विपक्षीय समझदारी भई कूटनीतिक तहमा कुराकानीसमेत प्रारम्भ भएको विभागले जनाएको छ ।
नेपाली र भारतीय विज्ञ सहभागी रहेको नेपाल–भारत सम्बन्धमा गरिएको प्रभुत्व व्यक्ति समूह (इपिजी)को अध्ययन प्रतिवेदनलाई अविलम्ब ग्रहण गर्न भारतीय पक्षलाई आग्रह गर्ने, नेपाल–भारतबीचको व्यापार सन्धिलाई समयानुकूल परिमार्जन गर्ने र व्यापारघाटालाई न्यूनीकरण गर्ने, नेपालको क्षेत्रीय–अन्तर्राष्ट्रिय विमानस्थल पोखरा र भैरहवाबाट अन्तर्राष्ट्रिय उडान भर्नका लागि सिधा हवाईमार्ग उपलब्ध गराउन अनुरोध गर्ने, नेपालको ऊर्जा, पर्यटन, औद्योगिकीकरण, भौतिक पूर्वाधार तथा कृषिको औद्योगिकीकरण र बजारीकरणमा भारतीय लगानी अभिवृद्धि गर्न, दुई देशबीचको सीमा वारपार हुने तस्करी तथा अनौपचारिक आर्थिक गतिविधिलाई नियन्त्रण गर्नुपर्ने सुझाएको छ ।
दुई देशीबीचको खुला सिमानामा आवतजावत गर्ने नेपाली र भारतीयको अभिलेख व्यवस्थित गर्न आवश्यक प्रणालीको विकास गर्ने, पशुजन्य सङ्क्रमित रोग नियन्त्रण तथा रोकथामका लागि सहयोगको अनुरोध गर्ने, भारतमा काम गरी फर्केर आउने नेपाली श्रमिकमाथि सीमा क्षेत्रमा हुने अनावश्यक झन्झट, ठगी, गुण्डागर्दी तथा सीमा सुरक्षामा खटिएका भारतीय सुरक्षाकर्मीबाट हुने दुर्व्यवहारलाई नियन्त्रण गर्ने, पञ्चेश्वर परियोजनाको कार्यान्वयन दुई पक्षलाई लाभ हुने गरी यथाशीघ्र सञ्चालनमा ल्याउन जोड दिने, नेपालको पूर्व–पश्चिम रेलमार्ग र काठमाडौँ–रक्सौल रेलमार्ग निर्माणमा भारतको सहयोगका लागि अनुरोध गर्ने, नेपालमा उत्पादित जलविद्युत्को विभेदरहित ढङ्गले भारतीय बजारमा बिक्री वितरणको सुनिश्चित गर्नुपर्ने, नेपालबाट बङ्गलादेश विद्युत् निर्यात गर्न भारतीय प्रसारण लाइनको प्रयोग गर्न भारतलाई अनुरोध गर्ने, ऊर्जा विकास र वितरणका लागि नेपाल, भारत र बङ्गलादेशबीच त्रिपक्षीय साझा समझदारी कायम गर्न पहल गर्न विभागले सुझाव दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ जेठ २०८०, १० : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेशमा जनमत र एकीकृत समाजवादीबाट दुई मन्त्रीले लिए शपथ
एकीकृत समाजवादीलाई एकतामा आउन ओलीको प्रस्ताव
एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै
एकीकृत समाजवादीले नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्ने
पार्टी एकताबारे एकीकृत समाजवादीमा मतभेद
तोकिएकै समयमा निर्वाचन गराउन एकीकृत समाजवादीको आग्रह