आयात प्रतिस्थापन गर्न भरतपुरमा कृषि उत्पादन वृद्धि गर्नुको विकल्प छैन : मेयर दाहाल

सुजन अधिकारी

बुधबार, १० जेठ २०८०, १६ : १४
आयात प्रतिस्थापन गर्न भरतपुरमा कृषि उत्पादन वृद्धि गर्नुको विकल्प छैन : मेयर दाहाल

चितवन। भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले आयात प्रतिस्थापन गर्न कृषि उत्पादन वृद्धि गर्नुको विकल्प नरहेको बताएकी छन् ।भरतपुर महानगरपालिका–२२ मा निर्माण भएको दुई वटा बोरिङको उद्घाटन गर्दै मेयर दाहालले कम लागतमा उत्पादन वृद्धि गरी कृषिमा आत्मनिर्भर बन्नुपर्ने उल्लेख गरिन् ।

कृषि उत्पादन वृद्धि गरी तेस्रो मुलुकबाट आउने खाद्यान्न रोकिने र देशको अर्थतन्त्र पनि बलियो बन्दै जाने उनको विचार थियो ।कृषि उत्पादन वृद्धि गर्न भरतपुर महानगरपालिकाले उत्पादनमूलक कार्यक्रमहरु सञ्चालन गरिरहेको उनको भनाइ छ ।प्रमुख दाहालले कृषि उत्पादन गर्न सिँचाइ र उन्नत बीउको आवश्यकता हुने भएकाले महानगरपालिकाले कृषकलाई सिँचाई र बीउको प्रबन्ध मिलाएको बताइन् ।

भरतपुर महानगरपालिकाले लिएको नीति अनुरुप कृषि उत्पादन वृद्धि गर्ने गरी विगतदेखि नै यान्त्रिकीकरणलाई जोड दिई प्रतिफल पनि प्राप्त गर्न सफल भएको प्रमुख दाहालले बताइन् ।महानगरपालिकाको आगामी चार वर्षभित्र सबै ठाउँमा सिचाइँको व्यवस्था हुने भएकाले उत्पादन वृद्धि हुने पक्का भएको धारणा राखिन् ।

दुई वटा बोरिङको उद्घाटन

मेयर रेनु दाहालले दुई वटा भूमिगत सिँचाई प्रणाली अन्तरगतको डिप बोरिङको उद्घाटन गरिन् । भरतपुर–२२ को सुख्खाग्रस्त क्षेत्र गर्भेटाँडी र पदमपोखरीमा निर्माण भएको बोरिङ उद्घाटन गर्दै प्रमुख दाहालले सिँचाइको अभावमा कुनै पनि खेत बाझो राख्न नपर्ने उल्लेख गरिन् । भरतपुरमा नौं हजार हेक्टरमा सिँचाइको व्यवस्था गर्ने लक्ष्य राखिएकोमा अहिलेसम्म २१ सय हेक्टरमा सिँचाइको व्यवस्था भइसकेको उनको भनाइ छ । एउटा डिप बोरिङले ३५ बिघा खेतलाई सिँचाई गर्न पुग्छ ।

 

१५ जनालाई बाख्रा वितरण

भरतपुर–२२ का १५ घरधुरीलाई बाख्रा वितरण गरिएको छ । निर्वाहमूखी कृषिकर्म गरिरहेका कृषिकहरुलाई प्रोत्साहन गर्न एक परिवार दुई बाख्रा वितरण गरिएको हो ।भरतपुर महानगरपालिकाकी मेयर दाहालले बाख्रा वितरण गरेकी हुन् । भरतपुर महानगरपालिकाका कृषि महाशाखा प्रमुख तेजेन्द्र पौडेलका कृषिको व्यवसायीकरणको क्रममा ठूला कृषकहरु समेटिने तर निम्न आय भएका कृषक नसमेटिने भएकाले बाख्रा वितरण कार्यक्रम ल्याइएको बताइन् । निर्वाहमूखी कृषक कार्यक्रममार्फत ९० जनाले दुई वटाका दरले बाख्रा पाउने छन् । युवा लक्षित कार्यक्रममार्फत् १७ जनाले २ लाखका दरले रकम प्राप्त गरेका छन् ।

९० क्विन्टल धानको बीउ वितरण

भरतपुर महानगरपालिकाको अनुदानमा ९० क्विन्टल धानको बीउ वितरण गरिएको छ ।भरतपुर–२१ को समाज उत्थान कृषि सहकारीमा अयोजित कार्यक्रममा कृषकहरुलाई धानको बीउ वितरण गरिएको हो ।

महानगरपालिकाले प्रतिकिलो ३० रुपैयाँका दरले अनुदान दिएको हो । भरतपुरमा रहेको ७२ वटा कृषि सहकारीमार्फत २३३ मेट्रिक टन बीउ साढे ९ हजार कृषकलाई बीउ वितरण गरिने भरतपुरका कृषि महाशाखा प्रमुख पौडेलले जानकारी दिए । उन्नत बीउले २० प्रतिशत उत्पादन वृद्धि गर्ने अनुसन्धानले देखाएको छ ।