साताको सेयर बजार : नेप्से सूचक ३८ अंकले बढ्दा मार्केट क्यापिटलाइजेसन ५६ अर्बले बढ्यो

सफल खबर संवाददाता

शनिबार, ०६ जेठ २०८०, ११ : ३२
साताको सेयर बजार : नेप्से सूचक ३८ अंकले बढ्दा मार्केट क्यापिटलाइजेसन ५६ अर्बले बढ्यो

काठमाडौँ । यो साता सेयर बजारका लागि उत्साहपूर्ण रह्यो । १८ सय ३८ अंकको विन्दुमाबाट सुरु भएको नेप्से सूचक यो सातामा ३८ अंकमाथिले बढ्दै १८ सय ७७.३२ अंकको विन्दुमा उक्लिएको छ ।

साथै यो साता कारोबार रकम समेत बढोत्तरी हुँदै ४ अर्ब ५३ करोड २६ लाख ८९ हजार ११३ रुपैयाँ बराबरको सेयर कारोबार हुँदा उता मार्केट क्यापिटलाइजेसन (बजार पुँजीकरण) ५६ अर्बमाथिले बढ्न पुगेको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार यो साता मार्केट क्यापिटलाइजेसन ५६ अर्ब २३ करोड ७० लाख ६६ हजार रुपैयाँ बढ्दै २७ खर्ब ३८ अर्ब ७२ करोड ८० लाख ३० हजार रुपैयाँ पुगेको छ । जबकि अघिल्लो हप्तासम्म निरन्तर ओरालो यात्रामा रहेको सेयर बजारले गत हप्ता मात्रै ४२ अर्ब १७ करोड ३० लाख रुपैयाँ गुमाउँदै २६ खर्ब ८२ अर्ब ४९ करोड रुपैयाँमा कायम भएको थियो । 

कुन दिन कतिले नेप्से घट/बढ भयो ?

यस साता पाँचै दिन खुलेको बजारमा २ दिन बाहेक ३ दिन नेप्से सूचक बढेको छ । वैशाख ३१ गते अर्थात् मे १४ मा १६.९५ अंकले घट्दै १८ सय २१.६४ अंकको विन्दुमा झरेको नेप्से सूचक दोस्रो दिन सोमबार थप ३.३३ अंकले घट्दै नेप्से सूचक १८ सय १८.३१ अंकको विन्दुमा झरेको थियो । तर, तेस्रो, चौथो र पाँचौँ दिन भने क्रमशः ३.३१, २३.४० र ३२.३० अंकले नेप्से सूचक बढ्दै १८ सय ७७.३२ अंकको विन्दु चुमेको छ । 

मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षाले बैंकदर १ प्रतिशतले घटाएसँगै ब्याजदर घट्ने अपेक्षामा सेयर बजार केही सुधार भएको छ । यद्यपि, बजारको आर्थिक समस्या अझै सहज नभइसकेकाले आउँदो हप्ता नेप्सेले कस्तो रूप लिन्छ त्यो भने हेर्न बाँकी छ । 

 

प्रतिक्रिया दिनुहोस