काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीका नेताहरूको नाम जोडिनुले पार्टीको गरिमामा आँच आएको बताएका छन् । बुधवार काठमाडौँमा आयोजित प्रजातान्त्रिक विचार समाजको १२ औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले नक्कली भुटानी शरणार्थीको मुद्दा अन्तर्राष्ट्रिय विषय बनेको र यसलाई ढाकछोप गर्नु नहुने बताएका हुन् ।
उनले नक्कली भुटानी शरणार्थी प्रकरण लज्जास्पद र राष्ट्रघाती काम भएको जिकिर गरे । उनले भने, ‘अहिलेको राजनीतिक परिस्थिति अत्यन्त गम्भीर छ, झनै नेपाली काँग्रेस पार्टीको परिस्थिति पनि गम्भीर छ । नेपाली काँग्रेसभित्र अहिले जुन घटनाहरू भइरहेको छ, हाम्रै साथीहरू नक्कली भुटानी शरणार्थीको मुद्दामा फस्नुभएको छ, फसाइएको छ, त्यसले नेपाली काँग्रेसको मात्रै होइन, नेपालीकै शिर निहुरिएको छ, यति लज्जास्पद र राष्ट्रघाती काम भएको छ देशमा, यसलाई कुनै ढाकछोप गर्नु हुँदैन, यसलाई हामीले ढाकछोप गर्ने कोसिस गरेमा नेपाली काँग्रेसको अवस्था के हुन्छ म भन्न सक्दिन, अहिले अप्ठ्यारो स्थितिमै पार्टी छ, देशकै अवस्था नाजुक हुन्छ, यो विषय अन्तर्राष्ट्रियकरण भइसकेको छ, सहजै यो मुद्दा चलिरहेको छैन, नेपाली प्रहरीलाई यत्रो तागत त्यसै आइरहेको छैन, कुनै बहानामा कसैले कुनै किसिमको गलत काम गरेको भए दण्ड हुनैपर्छ ।
यो मुद्दालाई कमजोर बनाउने चिन्ता हामी सबैलाई लागेको छ । देशको नागरिकलाई अनागरिक बनाइ मानव बेचबिखन गरेर विदेश पठाइदिने भनेको त यो भन्दा लज्जास्पद कुरा के हुनसक्छ ।’ नेता कोइरालाले देशको अर्थतन्त्र दयनीय रहेको बताए । उनले मिश्रित निर्वाचन प्रणालीले कसैको बहुमत नआउने भएकाले निर्वाचन प्रणाली परिवर्तन गर्न जरुरी रहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ जेठ २०८०, १४ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डा. शेखर कोइरालाको प्रतिबद्धता : ‘सुकुमवासी व्यवस्थापन र विराटनगर विकासलाई प्राथमिकता’
‘सुन्दरहरैंचालाई अझै सुन्दर बनाउने जिम्मा मलाई छोड्दिनुस्’ : डा. शेखर कोइराला
डा. शेखर कोइरालाले गराए मोरङ-६ मा मनोनयन दर्ता
‘सभापति हुने कुराले मलाई लोभ्याउँदैन, निकास ननिस्किँदासम्म लागिरहन्छु’: डा. शेखर कोइराला
डा. शेखर कोइरालाको निर्देशन : ‘काँग्रेस निर्वाचनमा जान आतुर छ, तयारीमा लाग्नुस्’
संविधानलाई ट्रयाकमा ल्याउन निर्वाचन गर्नुको विकल्प छैन: डा. शेखर कोइराला