स्रोत नखुलेको १२ लाख नगद र मोटरसाइकलसहित २ जना पक्राउ

सफल खबर संवाददाता

विहीबार, २८ बैशाख २०८०, २० : ०६
स्रोत नखुलेको १२ लाख नगद र मोटरसाइकलसहित २ जना पक्राउ

वीरगन्ज । पर्सा प्रहरीले स्रोत नखुलेको १२ लाख नगद र मोटरसाइकलसहित दुई जनालाई पक्राउ गरेको छ।

पर्सा जिल्ला बिन्दबासिनी गाउँपालिका वडा नं.५ प्रसौनीभाटा पुलमा प्रहरी चौकी प्रसौनी भठ्ठाबाट खटिएको चेकिङ्ग टोलीले वीरगन्जबाट प्रसौनी भाठ्ठातर्फ जाँदै गरेको बीआर ०५एस ४७०२ नम्बरको भारतीय नम्बरको मोटरसाईकल नियन्त्रणमा लिएको हो ।

सवारी चेकजाँच गर्दा मोटरसाइकलमा पछाडि सवार भारत विहार जिल्ला पूर्वी चम्पारण ग्राम पञ्चायत भेलाही बस्ने बर्ष ४० को धनन्जय कुमार गुप्ताले बोकेको कालो झोलामा स्रोत नखुलेको नेपाली १००० दरका नोट ८०० थान र ५०० दरको नोट ८०० थान गरी जम्मा १२ लाख फेला परेको थियो ।

मोटरसाइकल चालक बिन्दवासिनी गाउपालिका वडा नं. ६ बस्ने वर्ष २६ का मुसाहेब आलम र निज धनन्जय कुमार गुप्तालाई उल्लेखित नम्बरको माटरसाइकल र नगदसहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याई नेपाल राष्ट्र बैंक ऐन २०५८ विरूद्धको कसूरमा बुधबार २७ गते पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप लिई अनुसन्धानमा राखिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रबक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरिले जानकारी दिए।