लागुऔषधसहित १३ जना पक्राउ

सफल खबर संवाददाता

शुक्रबार, २२ बैशाख २०८०, २० : ०४
लागुऔषधसहित १३ जना पक्राउ

काठमाडाैं । देशका विभिन्न स्थानबाट लागुऔषधसहित १३ जना पक्राउ परेका छन् । ईलामकाे माई नगरपालिका-१ घुम्ती बस्ने ३४ वर्षीय तिर्थ गिरीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २२ मिलिग्रामसहित  प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी महमाईबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

सिरहाकाे गोलबजार नगरपालिका-६ बाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्रामसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २० वर्षीय वीरेन्द्र चौधरी, सोही नगरपालिका-६ ग्रामिन बस्ने ३० वर्षीय राकेश नायक र सोही नगरपालिका-१० बस्ने १९ वर्षीय बालकृष्ण साह रहेका छन् । ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । 

कैलालीकाे लम्कीचुहा नगरपालिका-३ बेवस्थितनगरबाट अवैध लागुऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ३ ग्राम ३ सय ४० मिलिग्रामसहित जोशीपुर गाउँपालिका-७ बस्ने २३ वर्षीय अमृत चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । 

यसैगरी कैलालीकै लम्कीचुहा नगरपालिका-१० पिपरौवाबाट अवैध लागुऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब १ ग्रामसहित दुईजनालाई  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २४ वर्षीय सुवाश चौधरी र ३४ वर्षीय प्रकाश बडायक रहेका छन् । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । 

झापाकाे भद्रपुर नगरपालिका-८ बाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७६ ग्राम ३ सय ४० मिलिग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरको छ । पक्राउ पर्नेहरूमा मकवानपुर हेटौंडा उपमहानगरपालिका-१ घर भई झापा मेचीनगर नगरपालिका बस्ने २१ वर्षीया सोनी श्रेष्ठ राजवंशी र उनकै दिदी २३ वर्षीया संध्या श्रेष्ठ रहेका छन् । बुद्ध एयरको विमानद्वारा काठमाडौं जान लागेका उनीहरूलाई विमानस्थल सुरक्षा गार्ड चन्द्रगढीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । 

धनुषाकाे मिथिला नगरपालिका-१० लालगढबाट अवैध लागुऔषध गाँजा १० केजी ५ सय ग्रामसहित सर्लाही हरिवन नगरपालिका-३ बस्ने ३१ वर्षीय फेकन साहसमेत चारजनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय ढल्केबर र लागूऔषध नियन्त्रण ब्यूरो जनकपुरबाट खटिएको संयुक्त टोलीले प्र.२-०३-००७ प ८५४१ नम्बर र ज.४ प ७७३३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी साहसमेत दुवै मोटरसाइकलमा सवार ४ जनालाई पक्राउ गरेको हो ।