कालीकोटमा कालाजारका बिरामी देखिन थाले

सफल खबर संवाददाता

विहीबार, २५ असार २०८३, १० : ४५
कालीकोटमा कालाजारका बिरामी देखिन थाले

कालीकोट । हिमाली जिल्लामा पनि लामखुट्टेको टोकाइबाट लाग्ने रोगका बिरामी देखिन थालेका छन् । कालीकोटमा लामाखुट्टेको टोकाइबाट लाग्ने रोग डेङ्गी, औलो र कालाजारका बिरामी भेटिन थालेका हुन् । 

विगतमा तराई र पहाडका जिल्लामा मात्र देखिने गरेको लामखुट्टेका कारणले लाग्ने रोग केही वर्षयता हिमाली जिल्लामा देखिन थालेको छ । जिल्लामा आर्थिक २०८२/०८३ मा लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गी, औलो र कालाजारका १९ बिरामी भेटिएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत कटकबहादुर महतले जानकारी दिए । उनका अनुसार डेङ्गीका १०, कालाजारका आठ  र औलोका एक जना एक बिरामी भेटिएका छन् । 

जिल्लाका नौ  पालिकामध्ये छ  पालिकामा डेङ्गी, औलो र कालाजारका बिरामी भेटिएको जनस्वास्थ्य अधिकृत महतले बताए । जिल्लाका नौ पालिकामध्ये खाँडाचक्र नगरपालिका डेङ्गीका आठ, पलाँता गाउँपालिका एक , नरहरिनाथ गाउँपालिका एक जना बिरामी भेटिएका छन् । 

उनका अनुसार त्यस्तै, कालाजारका खाँडचक्र नगरपालिका दुई, पचालझरना गाउँपालिका दुई , रास्कोट नगरपालिका, शुभकालिका, पलाँता र नरहरिनाथ गाउँपालिकामा एक÷एक जना, बिरामी भेटिएका छन् । औलो रोगका बिरामी खाँडाचक्र–२ मा एक जनामा भेटिएको थियो । यो भने आयातित बिरामी थिए ।

जलवायु परिवर्तनका कारणले तापक्रम बढ्दै जाँदा पहिले चिसो मानिने क्षेत्रमा लामखुट्टे बाँच्न र प्रजनन गर्न सक्षम भएका र जिल्लाबाट धेरै मानिसहरू तराईका जिल्लाबाट आउन–जाने भएकाले पनि पछिल्लो चरणमा डेङ्गी, औलो र कालाजारका बिरामी भेटिने गरेको जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख रत्नवीर सुनारले बताए । 'सडक निर्माण, बजार विस्तार तथा अव्यवस्थित बस्तीका कारण पानी जम्ने ठाउँ बढ्दा लामखुट्टे हुर्कन अनुकूल वातावरण बन्छ । त्यो कारणले पनि जिल्लामा डेङ्गी, औलो र कालाजारका बिरामी भेटिन थालेका हुन्,' उनले भने, 'विशेष गरेर जिल्लाका तल्लो भेग कर्णाली नदी र तिला नदी किनार आसपासका क्षेत्रमा लामखुट्टेबाट सर्ने रोगका बिरामी भेटिएका छन् ।'

जिल्लामा डेङ्गी, औलो र कालाजारका सङ्क्रमणका बिरामी भेटिन थालेपछि महामारीको रुपमा फैलिन नदिन स्वास्थ्य संस्थाहरूसँग समन्वय गरेर लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियान शुरू गरिएको जिल्ला स्वास्थ्य कार्यालयका महामारी रोग नियन्त्रण शाखाका प्रमुख हेमराज बमले बताए । 'लामखुट्टेको जोखिम देखिएका जिल्लाका विभिन्न ठाउँमा स्थानीय स्वास्थ्य संस्थाहरूको सहयोगमा लार्भा खोज्ने र नष्ट गर्ने तथा सचेतनाको अभियान सञ्चालन गरेका छौँ,' उनले भने, 'विशेष गरेर डेङ्गी, औलो र कालाजार बिरामी भेटिएका क्षेत्रमा घरभित्र र बाहिर पानी जम्ने ठाउँहरू सफा गर्ने र लामखुट्टेको टोकाइबाट बच्न झुलको प्रयोग विषयमा जानकारी गराएका छौँ ।'

प्रतिक्रिया दिनुहोस