काठमाडौँ। नेपाल सरकारले सुडानमा भइरहेको जटिल सुरक्षा अवस्थामा त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षा र उद्धारका लागि निरन्तर अधिकतम प्रयास गरिरहेको जनाएको छ ।
सुडानमा रहेका नेपाली नागरिकसँग निरन्तर सम्पर्कमा रही कायरोस्थित नेपाली राजदूतावासले विवरण अद्यावधिक तथा उद्धार कार्य जारी राखेको परराष्ट्र मन्त्रालयले आज जनाएको छ । मन्त्रालयका अनुसार संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा कार्यरत नेपाली अधिकारीबाहेक हालसम्म अन्य ३० जना नेपाली नागरिक कायरोस्थित नेपाली राजदूतावाससँग सम्पर्कमा रहेका छन् ।
उक्त दूतावासको अनुरोधबमोजिम पोर्ट सुडानमा पुगेका १९ नेपाली साउदी अरेबिया सरकारको सहयोगमा पानीजहाजबाट जेद्दा सहरमा सुरक्षित तवरले सकुशल आइपुगेको जेद्दास्थित नेपाली महावाणिज्यदूतावासले जानकारी गराएको छ ।
यसअघि नै एक नेपाली सकुशल जेद्दा पुगेको र त्यहाँ आइपुगेका सबै नेपालीको नेपाल फिर्तीका लागि सहजीकरण भइरहेको मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।
कायरोस्थित नेपाली राजदूतावाससँग सुडानमा सम्पर्कमा रहेका बाँकी ११ नेपालीमध्ये पाँच जना पोर्ट सुडानतर्फ प्रस्थान गरिसकेको, एक जनालाई खार्तुमबाट पोर्ट सुडान पुर्याउने प्रयास भइरहेको, तीन जना रोजगारदाता कम्पनीको सहयोगमा पोर्ट सुडान पुगी स्वेच्छाले त्यहाँस्थित एक होटेलमा बसेका छन् । दुई जनालाई रोजगारदाता कम्पनीले खार्तुमबाट इजिप्टको सिमाना नजिकैको सुरक्षित स्थानमा लैजाने व्यवस्था मिलाइएको राजदूतावासले जानकारी गराएको छ ।
सुडानमा अलपत्र परेका नेपाली नागरिकको सुरक्षित उद्धारमा आवश्यक सहयोग एवं सहजीकरण गर्ने सबै सम्बद्ध पक्षलाई नेपाल सरकारले धन्यवाद व्यक्त गरेको छ । साथै अझै पनि सुरक्षा अवस्था असहज रहेको बुझिएकाले सुडानमा रहेका सबै नेपाली नागरिकलाई सुरक्षित स्थानमा रहन र अत्यावश्यक काममाबाहेक बाहिर हिँडडुल नगर्न नेपाल सरकारले आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ बैशाख २०८०, १४ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पश्चिम एसियाबाट ६५ हजार ८८६ नेपालीले गरे अनलाइनमा आफ्नो विवरण दर्ता
‘मध्यपूर्वमा रहेका नेपालीसँग सम्पर्कमै छौँ, ट्रान्जिटमा रहेकाहरू सुरक्षित छन्’ : परराष्ट्र मन्त्रालय
परराष्ट्र मन्त्रालयले भन्यो : ‘मध्यपूर्वमा रहेका १७ लाख बढी नेपालीको सुरक्षा सरकारको उच्च प्राथमिकतामा
राहदानीको विषय समाधान उन्मुख छ : परराष्ट्र मन्त्रालय
परराष्ट्र मन्त्रालयले भन्यो : ‘विपिन जोशीको अवस्था अज्ञात’
सबै प्रयासका बाबजुद विपिन जोशीको अवस्था अझै अज्ञात : परराष्ट्र मन्त्रालय