काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी आर्थिक वर्षदेखि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई अनिवार्य र कडाइका साथ लागू गर्न पहल गर्ने बताएका छन्।
प्रधानमन्त्री दाहालले अन्तर्राष्ट्रिय श्रमिक दिवस (१ मई) को अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा सामाजिक सुरक्षा कार्यक्रमलाई सम्पूर्ण औद्योगिक प्रतिष्ठान, उद्योग र कार्यालयमा अनिवार्य र कडाइका साथ लागू गर्न पहल गरिने उल्लेख छ।
‘राष्ट्रका उच्च स्थानबाट वार्षिक रुपमा प्रदान गरिने विभिन्न सम्मान तथा पुरस्कारमा यसै वर्षदेखि लागू हुने गरी कम्तीमा २ प्रतिशत मजदुरलाई समावेश गर्ने नीति लिइने जानकारी गराउँदछु,’ सन्देशमा भनिएको छ, ‘मजदुरको काम, कर्तव्य र अधिकार स्पष्ट पार्दै सेवा शर्त र सुविधा निश्चित र वैधानिक गर्न अनुगमनकारी निकायलाई सक्रिय बनाइने प्रतिबद्धता व्यक्त गर्दछु।’
सन्देशमा अदक्ष तथा अप्रमाणित अवस्थामा जोखिमपूर्ण काम गरिरहेका सबै सरसफाइ मजदुरलाई आगामी आर्थिक वर्षभित्र दक्ष बनाउने उद्देश्यका साथ सरकारी निकाय र जिम्मेवार संस्थाहरुले अनिवार्य रुपमा आफ्ना मजदुरलाई उचित पेशागत तालिम दिन, आधुनिक सामग्री प्रयोग गर्न, सुरक्षासहितको उपयुक्त पोशाक प्रयोग गर्न तथा कामको नियमित अनुगमन गर्न निर्देशन दिइएको उल्लेख छ।
नेपालमा श्रमजीवी जनसमुदायले आफ्नो अधिकारका निमित्त सङ्घर्ष र बलिदानका अनेकौँ कीर्तिमान कायम गरेका र मजदुरसहित उत्पीडित जाति, क्षेत्र, लिङ्ग र समुदायका जनताको सङ्घर्ष र बलिदानको कीर्तिमानकै कारण देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उल्लेख छ। नेपाल अहिले विकास, समृद्धि, स्थिरता र सुशासनको व्यावहारिक अभ्यासको चरणमा प्रवेश गरेको सन्देशमा छ।
नेपाल र विश्वका मजदुरमा बधाई तथा शुभकामना व्यक्त गर्दै सन्देशमा भनिएको छ, ‘नेपाली श्रमिक जनसमुदाय खास गरी किसान मजदुरको हकहित र अधिकारका पक्षमा आफूलाई उभ्याउने प्रण गर्दछु, नेपाली श्रमजीवी जनतालाई सामाजिक न्यायसहितको समृद्धिको नयाँ युगमा पु¥याउने ऐतिहासिक जिम्मेवारी हाम्रा सामू छ । यो जिम्मेवारी पूरा गर्न म अनवरतरुपमा लागिरहने प्रण गर्दछु ।’
आठ घण्टाको कार्यदिनको मागसहित आफ्नो अधिकारका निमित्त अमेरिकाको शिकागो सहरका मजदुरहरुले गरेको सङ्घर्षलाई स्मरण गर्दै नेपाललगायत विश्वभरका मजदुरहरुले १ मईको दिनलाई अन्तर्राष्ट्रिय श्रमिक दिवसका रुपमा मनाउँदै आएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १८ बैशाख २०८०, ०७ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मातातीर्थ औँसीमा प्रधानमन्त्री बालेनको शुभकामना : ‘म नेपाल आमा हाँसेको हेर्न चाहन्छु’
प्रधानमन्त्री शाह आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्दै
राष्ट्रिय अनुसन्धानमा भन्दा सेनाको डिएमआई' मा प्रधानमन्त्रीको भर
प्रधानमन्त्रीले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
प्रधानमन्त्री बालेनको नयाँ वर्षको शुभकामना : ‘सर्वे भवन्तु सुखिन.. ’
उद्योग मन्त्रालयका ‘छायाँ मन्त्री’ : निर्णय सांसद सुशान्त वैदिक, हस्ताक्षर प्रधानमन्त्री