अशिक्षा र गरिबीको दूरावस्था, २६ वर्षमा १२ सन्तान !

रासस

शुक्रबार, १५ बैशाख २०८०, १२ : २१
अशिक्षा र गरिबीको दूरावस्था, २६ वर्षमा १२ सन्तान !

बझाङ । बस्तीभन्दा झण्डै एक किलोमिटर टाढा । अग्लो डाँडाको काखमा एक झुपडी । त्यसैमा बस्छ, सात सदस्यीय एक परिवार । नजिकै छ, डेढ दर्जनबढी वस्तुभाउ अटाउने गोठ । झुपडीसँगै टाँसिएको तबेला । आँगनमा यत्रतत्र छरिएका लुगाकपडा, भाडाँकुडादेखि काठ दाउरा सबै । यो अव्यवस्थित दृश्य हो, खप्तडछान्ना गाउँपालिका–७ गोरखाली खानडाँडाको ।

खानडाँडामा भिट्टु खड्काको परिवार बसेको एक दशक भयो । चिरापाणि (परिवारलाई चिनिने टोल) मा बुबाको साँघुरो घर चार भाइलाई भाग लागेपछि नअटाएको भन्दै भिट्टुको परिवार खुला ठाउँ खानडाँडामा गोठ बनाएर बसेको रहेछ । बस्तीभन्दा टाढा भएपनि खन्दै स–सानो बारी (जमिन) जोडेका छन् । बालबालिका नाबालक हुँदादेखि नै खानडाँडा बसेका खड्कालाई सुरूआती दिनमा भने परिवार पाल्न त्यति समस्या भएन । बालबालिका हुर्कंदै जाँदा उनका समस्याका पहाडहरू आँखै अगाडि आए । लामो समयपछि जोगिएका सन्तानको पालनपोषण गर्न खड्का दम्पतीको शक्ति हराउँदै गयो । बालबालिका शिक्षाबाट वञ्चित भए । हिलो, धुलो, कुपोषणको समस्याबाट गुज्रँदै किशोरावस्थामा पुगे ।

२६ वर्षमा १२ सन्तानलाई जन्म

भिट्टुकी श्रीमती बेलु खड्काको उमेर ४० वर्ष भयो । केदारस्यूँ गाउँपालिकाको रजाडामा माइतीघर भएकी बेलु र भिट्टुले विसं २०५४ मा बिहे गरे । अहिले खड्का दम्पती दाम्पत्य जीवनमा प्रवेश गरेको २६ वर्ष भइसक्यो । यो अवधिमा बेलुले १२ सन्तानलाई जन्म दिइसकेकी छन् । खड्का दम्पतीको पहिलो सन्तान बिहे गरेको दोस्रो वर्ष (२०५५ साल) मै जन्मियो । तीन महिना नपुग्दै सन्तान गुमाउनु परेपछि निकै तनावमा भए खड्का दम्पती । अर्को वर्ष नपुग्दै दोस्रो सन्तान जन्मियो । दोस्रो पनि तीन÷चार महिनाको बीचमै गुम्यो ।तेस्रो, चौथो हुँदै सातौँसम्म लगातार सन्तान गुमाएपछि उनीहरूले गाउँ नै छोड्ने निधो गरे । “गाउँलेले अब तिम्रो जिन्दगी सकियो, निःसन्तान हुने भयौ भनेपछि गाउँमा बस्ने मनै भएन”, भिट्टु सम्झन्छन्, “गाउँ नफर्किने गरी जाने मन थियो, तर जाने ठाउँ नै भएन । न त जाने खर्च नै । चरम पीडालाई च्यापेर त्यतै टाँस्सियौँ ।”

भिट्टु जीवनबाट निराश हुँदै मदिरातर्फ सल्किए । त्यो बीचमा फेरि आठौँ सन्तानको रूपमा छोरीको जन्म भयो । छोरी जन्मेको एक सातामै उनीहरू गडरायका वैद्य (जडीबुडी डाक्टर) को सल्लाहमा गए । पछि वैद्यको औषधिले पहिलो सन्तान जोगायो । पहिलोसहित लगातार दुई छोरी जन्मिएपछि फेरि गाउँलेले छोरा जन्मिएन भनेर कुरा काट्न थाले । गाउँले होच्याइरहेको बेला उनको छोरा जन्मियो । भिट्टुले छोरा जन्मिएको खुसियालीमा गाउँलेलाई ऋण निकालेर एक हप्तासम्मै छैठी (जन्मको उत्सव) खेलाए ।सन्तान हुर्कदै गएपछि घरमा बस्न निकै साँघुरो भयो । त्यसपछि उनीहरू खानडाँडामा गोठ बनाएर बसे र कान्छो छोरा हर्कको जन्म पनि खानडाँडामै भयो ।

१२ वर्षमा छोरीलाई विद्यालय भर्ना

आर्थिक अवस्था कमजोर र विद्यालय टाढा भएकै कारण खड्काले छोराछोरीलाई किशोरावस्था प्रवेशसँगै विद्यालय पठाए । जेठो छोरीले नपढे पनि माइलो छोरीसहित पछिका सन्तानलाई अहिले विद्यालयमा भर्नासम्म गरेका छन् । रिरा खड्का भिट्टुकी माइली छोरी हुन् । उनको उमेर १४ वर्ष भयो । अहिले उनी ३ कक्षामा पढ्छिन् । कान्छी छोरी १२ वर्षीया जौकला र ११ वर्षीय छोरा दीपकलाई भिट्टुले एक कक्षामा भर्ना गरिदिएका छन् । नौ वर्षीय हर्कलाई भने सानै उमेर भन्दै विद्यालय पठाएको छैन ।यता भिट्टु भने गरिबीको कारण कुनै सन्तानलाई पनि विद्यालय पठाउन नसकेको बताउँछन् । “सबैका छोराछोरी पढ्न जान्छन् । आफ्ना छोराछोरीलाई पनि विद्यालय पठाउन मन लाग्छ । तर, लुगाकपडा त के, कापी कलमसमेत किन्नलाई पैसा हुँदैन ।” उनी बोल्न नसकी भक्कानिन्छन् ।

आफ्नो छोरीसँगैका बालबालिका अब एसइई दिने तयारीमा पुगेको उनले बताए । “हामीलाई त मान्छेले मात्रै होइन, भगवानले सबै ठग्यो ।” उनले भने ।अहिले आफूसँग छोराछोरीलाई कलम किन्ने पैसा नभएको उनले बताए । उनले भने, “विद्यालयले भर्ना गर्न जाँदा कक्षामा पोसाक अनिवार्य लगाउनु भनेको छ, नत्र नआउनु भन्नुभएको छ । तर, मसँग सुक्को पैसा छैन । गाउँलेले फालेको कपडा त हामी नयाँ भन्दै ल्याएर शरीर ढाक्छौँ । कताबाट नयाँ पोसाक पाउनु !”

घर जलेर पीडामाथि पीडा

खानडाँडामै तीन वर्षअघि खड्काको घर जलेर नष्ट भयो । आगलागी भएपछि निभाउन सक्ने अवस्था नै रहेन । “डाँडामा भएको घर । निभाउनका लागि माटो मात्रै विकल्प थियो, पानीको हाहाकार । पिउनलाई एक किलोमिटर टाढाबाट बोकेर ल्याउनुपथ्र्यो । दुई /चार नजिकका छिमेकीले साना–साना भाँडामा पानी लिएर आउँदासम्म खरानी भइसकेको थियो” खड्का सम्झन्छन् ।

खड्काको गोठमा तीन बाख्रा थिए । घरसँगै बाख्रा पनि पूर्ण रूपमा जलेर नष्ट भए । बेलुले भनिन्, “हामी बेहोस भइसकेका थियौँ । गाउँले आएर आगो फैलन दिएनन् । माटोले निभाएछन् । पछि हेर्दा बाख्राको त खप्परबाहेक सबै नष्ट भइसकेछ ।” पछि गाउँमा मुचुल्का गर्नुपर्ने कुरा उठेको थियो । “त्यो पनि ढिला भइसकेको रहेछ ।” उनले भनिन् ।घरमा बाकस नहुँदा महत्वपूर्ण सरसामान पनि जोगाउन नसकेको उनले सुनाइन् । “बाकस थिएन, ज्याला गरेर जम्मा पारेको १२ हजार रूपैयाँ पनि छानोको भित्तामा राखेका थियौँ,” बेलु भन्छिन्, “भरखर किनेका चार÷पाँच ब्लांकेट, सबै जनाका एक/एक जोर नयाँ लुगा, भरखर ल्याएका दुई बोरा चामल र गहुँ छुनै नपाएर नष्ट भए ।” त्यस यता अहिलेसम्म कसैका लागि पनि कपडा किन्न नसकेको उनले बताइन् ।

खड्काका अनुसार घरमा सबै सामान लगाएर साढे पाँच लाखसम्मको सम्पति जलेर खरानी भयो ।आफन्तहरूले कपडा भाँडाकुँडा र केही दिनका लागि खाद्यान्न सहयोग गरे । त्यसपछि लेकबाट निगालो ल्याउँदै डोका डालो बेचेर आएको पैसाले कोदो, धान किनेर खाने गरेको भिट्टुले बताए । “कोदोको मूल्य अलि सस्तो पर्ने हुँदा जहिल्यै कोदो किन्यौँ । केही किन्न नसक्ने अवस्था भएपछि गाउँ–गाउँमा गएर मागेर पनि अहिलेसम्म ज्यान धानेका छौँ ।” उनले भने ।

बाजेकै पालादेखि मितेरी साइनो भएको हुँदा धर्तिवाडाका ब्रामण समुदायबाट दानको सामग्री पनि खाएको उनले बताए । “गाउँघरमा ब्रामणलाई आएको दान आफूले नखानु भन्ने बुझाई छ”, उनले भने, “हुन त ब्राम्हाणले पाएको दानबाट आएको चामल, पिठो हामीले खानुहुँदैन भन्नुहुन्छ । तर, के गर्नु, पापी पेट मान्दैन । उहाँहरूले चामल पिठो लिएर जाउ भन्नुहुन्छ, ल्याउँछौँ । त्यसले पनि हप्तौँ दिन छाक टर्छ ।”

ओहोरदोहोर गर्दा १० हजार खर्च, राहत मिल्यो सात हजार

घरमा आगलागी भएपछि राहतका लागि खप्तडछान्ना गाउँपालिकामा धेरै पटक धाए भिट्टुले । उनको घरबाट पालिका पुग्न झण्डै दुई सय रूपैयाँ जीपभाडा लाग्छ । राहतका लागि उनी दसौँ पटक पालिका पुगे ।भिट्टु भन्छन्, “घरबाट पालिका पुग्न धेरै समय त लाग्दैन । तर, पटक–पटक जाँदा पनि कहिल्यै हाकिम नभेटिने, कहिल्यै अध्यक्ष नभेटिने, कहिल्यै ढिलो भइसक्यो भन्दैमा लामो समय बित्यो ।” 

त्यो बीचमा भिट्टुको आठ हजार रूपैयाँ खर्च भइसकेको थियो । “तत्कालिन अध्यक्ष वर्कबहादुर रोकायाले सहयोग गर्छु भन्नुभयो,” उनी सँझन्छन्, “त्यसका लागि आफन्तबाट राहत आउने भन्दै ओहोरदोहोरका लागि सापट रकम लिएँ । तर राहत पाउने कहिले हो कहिले भयो ?” पालिकामा बोलाएको बेलामा पुगिदिन भिट्टुले एक शिक्षकलाई आग्रह गरे । “धेरैपछि उहाँले राहत ल्याउनुभयो सात हजार रूपैयाँ । त्यसबाट रु दुई हजारशिक्षकलाई नै दौडधुप गरेको भनेर भिट्टु खर्च दिनुभयो । बाँकी रु पाँच हजार राहत घरमा पुग्यो ।” उनी भन्छन् ।

सरकारी राहत खर्चभन्दा कम पाउनु र ढिलाइ हुनुमा उनका आफन्तलाई नै दोषी ठान्छन् भिट्टु । “त्यसले मदिरा खानलाई राहत माग्न आएको भन्ने नराम्रो खबर चिनजानेकैले सुनाएछन् । पालिकामा आफ्नो चिनजानको पनि कोही नहुँदा खर्चभन्दा कम राहत पाएँ ।” उनले भने। राहतको नाममा एउटा संस्थाले गरेको सहयोगको गुन भने कहिल्यै नबिर्सने उनी बताउँछन् । ग्रामीण स्वावलम्बन विकास केन्द्र (आरएसडीसी) संस्थाले घर जलेको केही समयपछि लुगाकपडा, भाँडाकुँडा, खाद्यान्नलगायत केही राहत दिएको, सीप सिक्न मद्दत गरेको हुँदा यो सानो घर बनाएर बसेको उनले बताए ।

गाउँलेलाई खुसी पार्ने चौपायाको रेखदेख

श्रम गर्न आफ्नो जमिन नभएपछि उनी खानडाँडा आएका थिए । खानडाँडामा उनले जमिन खन्दै अहिले बारी फैलँदै गएको छ । त्यहाँ उब्जनी हुने अन्नले भने एक महिनालाई खान पुग्दैन । “डाँडामा पानी छैन, मल पनि हुँदैन । अनि के उत्पादन हुन्थ्यो र ? कहिल्यै काम लाग्न सक्छ भनेर गरा (समथर बारी) बनाएको हुँ ।” उनी भन्छन् ।अहिले भिट्टुको गोठमा डेढ दर्जन गाई गोरू छन् ।

“गाउँलेले गाईले दूध नदिने भएपछि हेर्ने मान्छे छैन भन्दै यहाँ लिएर आउँछन्,” भिट्टु भन्छन्, “खुला ठाउँ भन्दै फिर्ता नगर्नु, आफैँ पाल्नु, खानु भनेर यता ल्याएर छोड्छन् । म पनि उहाँहरूलाई खुसी पार्न, मल पनि बढाउन सकिन्छ भन्दै गोठमा बाँध्ने गरेको छु ।” गाउँमा सबैका छोराछोरीहरू विद्यालय जान्छन्, आफ्ना छोराछोरीहरू गाउँलेले छोडेका वस्तुभाउ चराउने गरेको उनी बताउँछन् । “घरमा गोरू हेर्ने मान्छे छैन भन्नुहुन्छ, छोराछोरी स्कुल जान्छन रे । त्यो समस्या देखाएर गाई गोरू सिधैँ यतै लिएर आउँछन् । कहिलेकाँही चामल, पिठो उहाँहरूलाई नै सहयोग माग्नुपर्छ भनेर पनि “हुँदैन” भन्न सकिँदैन । पालिरहेको छु ।” उनले भने । गोरू मात्रै नभई एक आफन्तले घोडासमेत पाल्नका लागि छोडेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस